लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ ओटा गाडी कारबाहीमा

 असोज १६, २०७६ बिहिबार १३:५७:१२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङमा यात्रुसँग बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका छन् । काठमाण्डाै, पोखरा र चितवनबाट लमजुङ भित्रिएका यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १७ गाडीहरु कारबाहीमा परेका हुन् ।

प्रहरीका अनुसार तोकिएभन्दा बढी भाडा लिएर कारबाहीमा पर्नेमा बस, माइक्रो बस र डिलक्स रहेका छन् ।

इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरीले बुधबार गरेको जाँचका क्रममा बढी भाडा लिने सवारीलाई कार्वाही गरिएको इलाका प्रहरी कार्यालय, भोटेओडारका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जाँचका क्रममा ३ वटा सवारी पाउँदी र १४ वटा सवारी भोटेओडार बगैँचामा कारबाहीमा परेका हुन् । बढी भाडा लिने गाडीलाई सवारी ऐनअनुसार जरिबाना गराइएको छ ।

‘बढी भाडा लिने गाडीलाई एक-एक हजार रुपैयाँ जरिबाना गराइएको छ । जरिबानाबाट १७ हजार राजश्व संकलन भएको छ,’ प्रहरी निरीक्षक थापाले भन्नुभयो ।

उहाँका अनुसार यात्रुबाट बढी लिइएको भाडा ५७ हजार ४ सय रुपैयाँ सम्बन्धित यात्रुहरुलाई फिर्ता गराइएको छ ।

प्रहरीका अनुसार काठमाण्डौ बेसीशहरको बस भाडा प्रति यात्रु ४ सय रुपैयाँ, माइक्रो बसको ४ सय ६० रुपैयाँ र सुपर डिलक्स बसको भाडा ५ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । तर यात्रुवाहक गाडीले तोकिएभन्दा बढी ६ सय देखी ८ सय रुपैयाँसम्म बस भाडा असुलेकाे गुनासो आएसँगै प्रहरीले जाँच गरेको हो ।

यसैगरी, यात्रुहरु नठगिउन् र यात्रा सहज हाेस् भन्ने हेतुले प्रहरीले लमजुङको प्रवेशद्धार पाउँदी र भोटेओडार बगैँचामा ‘नागरिक तथा यात्रु हेल्प डेस्क’ खडा गरेको छ ।

पाउँदीको हेल्प डेस्कमा एक जना असई, एक जना ट्राफिक जवान र भोटेओडार बगैँचामा एक जना प्रहरी हवल्दार तथा एक जना ट्राफिक हवल्दार खटिएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया