नाग्म-गमगढी राजमार्गमा ठूला खाल्डा र हिलोका कारण यात्रुलाई सास्ती

 असोज १७, २०७६ शुक्रबार १६:२९:१४ | नेत्र शाही
unn.prixa.net

जुम्ला -  नाग्म–गमगढी राजमार्गकाे सिञ्जा सडकखण्डकाे अधिकांश ठाउँमा अत्यधिक हिलो र खाल्डाखुल्डीले यात्रुलाई यात्रा गर्न सास्ती भएको छ ।

सार्वजनिक गाडीहरु हिलोले त्यस ठाउँमा जान नमान्ने र  गए पनि बीचमै फस्न सक्ने भएकाले यात्रुलाई समस्या परेकाे छ ।

नाग्म-गमगडी राजमार्गको सिञ्जा र मुगु खण्डका धेरैजसो ठाउँमा हिलो र खाल्डाखुल्डीका कारण गाडी गुड्न नसक्दा दशैँमा घर आवतजावत गर्ने यात्रुलाई समस्या परेकाे स्थानीय डिल्ली तिवारीले जानकारी दिनुभयो । उहाँकाअनुसार सिञ्जा क्षेत्रमा गाडीहरु दिनभरमा ३ किलोमिटर समेत गुड्न सकेका छैनन् । एक्स्काभेटरले गाडी तानेर सञ्चालन गर्ने सम्भावना पनि छैन ।

यातायातका कारण माथिल्लो सिञ्जा र मुगुका यात्रुहरु बीचैमाबास बस्न बाध्य छन् । नाग्म-गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्ड अनुसारको ग्राभेल नहुँदा यात्रुहरुलाई सास्ती भएको छ । हिलो नै त्यहाँकाे पनि मुख्य समस्या हो ।

ठेकेदारले बाटो बनाउन ढिलाइ गरेकाले यस्ताे समस्या आइपरेकाे गाउँपालिकामा हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राभेल गर्ने जिम्मा पाएको ठेकेदारले लापर्वाही गरेका कारण बाटो समयमा बन्न नसकेको हाे ।

९३ किलोमिटरकाे नाग्म–गमगढी सडकमध्ये नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि झण्डै ९ किलोमिटर मात्रै ग्राभेल भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त डिभिजन प्रमुख श्रवण कुमार महताराका अनुसार कामका लागि पटक पटक पत्राचार गरे पनि अटेर गरेकाले अब पनि नमानेमा कालोसूचीको तयारी भइरहेको बताउनुभयो ।

उहाँका अनुसार सिञ्जा क्षेत्रमा गाडी तान्न र खाल्डा पुर्न एउटा एक्स्काभेटर पठाइएको छ ।

ग्राभेल भएको ९ किलोेमिटरमा भने गाडी राम्रैसँग चल्ने गरेकाे छ । नाग्म-गमगढी राजमार्ग अन्तरगतको आचार्यलिहीबाट बाजागाडा तलसम्म झणडै ९ किलोमिटरमा ग्राभेल गरिसकिएकाे सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख महताराले जानकारी दिनुभयो ।

हिम्दुङ्गथोकर–हिरा नमिता जेभीले नाग्मबाट बड्की सम्मकाे १३ किलोमिटर सडक ७ करोड ९० लाख ९५ हजार १७७ रुपैया २५ पैसामा ग्राभिल गर्ने जिम्मा लिएको दशैँपछि काम सम्पन्न गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

थोदुङ्ग कन्सट्रक्सन प्रालिले जिम्मा पाएकाे बड्कीबाट आचार्यलिहीसम्मको साढे ४ किलोमिटरकाे काम भने सम्पन्न भइसकेकाे छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया