गोरखाको फूलपाती मोटरमा राखेर हनुमानढोका दशैँघरमा पठाइयाे

 असोज १८, २०७६ शनिबार १३:४२:१५ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखाबाट काठमाण्डौको हनुमानढाेकामा रहेकाे दशैँ घरमा फूलपाती पठाइएकाे छ । गएराति गोरखामा विधिपूर्वक संंकलन गरिएको   फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

गोरखा दरवार नजिकैको सतिपिपलस्थित फूलपाति चौतारामा संकलन गरिएको फूलपाती गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी लोकप्रसाद भट्टराई नेतृत्वको टोलीले हनुमानढोका दशैँ घरमा लगेको हो । 

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट हनुमानढोका दशैंघरमा फूलपाती लैजाने परम्परा बसेको हो । उनले विसं १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गरेका थिए । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो ।

तर जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो । 

काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौ पठाउने चलन सुरु भएको उहाँको भनाइ छ । त्यसै परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि मोटर मार्फत फूलपाती काठमाण्डौ पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताउनुभयो ।

गोरखा दरबार हेरचाह अड्डासहित सतिपिपल क्लब, गोरखा धिंमे पुचः र युनिटी अफ गोरखालगायत संघसंस्थाको पहलमा फूलपाती हनुमानढोकास्थित दशैंघरमा पठाइएको हो । फूलपाती काठमाण्डौ लैजानु अघि भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पृथ्वीनारायण शाहको पालादेखि चलेको परम्परालाई निरन्तरता दिन पाउनु खुशीको कुरा भएको बताउनुभएकाे थियाे ।

आगामी वर्षहरुमा यो परम्परालाई थप विस्तार गर्दै लैजाने उहाँको भनाइ छ । गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको उक्त परम्परालाई पुरानै शैलीमा निरन्तरता दिनुपर्ने बताउनुभयो । पुरानो हुलाकी मार्ग हुँदै फूलपाती लैजाने परम्परालाई जोगाउन सके इतिहासको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया