हराउन थाले लिङ्गे पिङ र रोटेपिङ: सामाजिक सञ्जालमा झुण्डिनेलाई पिङ खेल्ने फुर्सद छैन

 असोज २०, २०७६ सोमबार १८:२९:४४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – पिङ भन्नाले रुखका हाँगामा वा चारतिर चारवटा बाँस गाडेर, बाँसको टुप्पाभन्दा केही तल बाँधिएको गरालोमा डोरी झुण्ड्याएपछि झुलेर वा मच्चाएर खेल्ने साधन भन्ने बुझिन्छ । 

नेपालीहरुको मुख्य चाडहरु दशैँ, तिहारमा मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ । स–साना उमेरका केटाकेटीहरु दिनभरजसो पिङमै झुम्मिने गर्दछन् । पिङ खेल्ने भनेपछि त केटाकेटीहरु हुरुक्कै हुन्छन् । गाउँघरमा हालिने लिङेपिङ र रोटेपिङमा मच्चिन पाउँदाको आनन्द नै बेग्लै हुन्छ ।

बुढाबुढीहरु पनि वर्षमा एकपटक त धर्ती छोड्नुपर्छ भन्दै पिङ खेल्छन् । सबै उमेर समूहका लागि पिङ मनोरञ्जनको एउटा महत्वपूर्ण साधन हो ।

पहिले पहिले गाउँघरमा लिङेपिङ र रोटेपिङहरु थुप्रै हालिन्थ्यो । जता गए पनि पिङ खेल्न पाइने । तर, विगत केही वर्षदेखि यता भने गाउँघरमा हालिने लिङेपिङ र रोटेपिङ हराउँदै जान थालेका छन् । अहिले दुवैथरी पिङ खेल्न पाइँदैन । परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित रहेर बनाइने लिङेपिङ र रोटेपिङको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो । 

पछिल्लो समय बढ्दो आधुनिकताको प्रभावका कारण मेला महोत्सवहरुमा समेत विद्युतबाट चल्ने पिङ खेलिने हुँदा युवा पुस्तामा परम्परागत पिङ खेल्ने त्यति चाहना देखिँदैन । अर्कोतर्फ घण्टौँसम्म सामाजिक सञ्जालहरुमा व्यस्त हुने अहिलेका युवापुस्ताहरुले पिङ खेल्ने फुर्सद पनि पाउँदैनन् ।

पहिले म्याग्दीका हरेक गाउँघर र टोलटोलमा हालिने लिङे पिङ र रोटेपिङ हिँजोआज लोप हुने अवस्थामा पुगेका छन् । रोटेपिङको अस्तित्व नै सङ्कटमा परेको छ भने लिङेपिङ समेत सीमित बन्दै गएको छ । संरक्षण गर्नेतर्फ युवापुस्ताले चासो नदेखाउँदा पिङ खेल्ने प्रचलन पनि हराउँदै जान थालेको हो ।

लिङे पिङको सट्टा अग्लो रुखको तेर्साे परेको हाँगामा पनि डोरी बाँधेर पिङ खेल्ने गरिन्छ । चाडबाडको समयमा यसरी पिङ खेलेर पनि आनन्द लिइन्छ । 

पिङ हालेर खेल्ने प्रचलन हराउँदै र संरक्षणको अभावमा पिङ लोप हुने अवस्थामा पुगेको बेनी नगरपालिका–५, चिप्लेटीका मिनबहादुर खत्रीले बताउनुभयो ।

‘पहिले–पहिले हामी साथीभाई जम्मा भएर भिरमा गइ बाबियो काटेर ल्याउँथ्यौं, आफैँ लठ्ठा बाट्थ्यौं र बाँसको लिङेपिङ हालेर खेल्थ्यौँ,’ उहाँले भन्नुभयो, ‘अहिलेका युवा पुस्ताहरु दुःख गर्न र सिप सिक्नै चाहँदैनन् ।’

यसरी तयार हुन्छ लिङ्गे पिङ

घटस्थापना सुरु भएदेखि नै गाउँमा दशैँको रमाइलो पनि सुरु हुन्छ । यही रमाइलोका लागि छरछिमेकका युवाहरु भेला भएर बलियो र दह्रो चारवटा बाँस काटेर ल्याई खाँबा बनाएर त्यसलाई गाडेपछि लिङेपिङ बन्छ । गाउँघरमा बाँस किनेर वा मागेर लिङ्गा बनाइ पिङ हाल्ने चलन छ ।

पिङ खेल्नका लागि वनजंगल र भिरपाखामा पुगेर बाबियो काट्नुपर्ने हुन्छ । काटेर ल्याएको बाबियो छिटेर घाममा सुकाइ पानीमा भिजाएर डोरी (लठाे) बाटेपछि बाँस गाडेर तेर्सो पारेर बनाएको गरालोमा बाँधेर लिङेपिङ बनाइन्छ । 

के हो रोटेपिङ ?

दुईवटा बलिया खाँबामा हालिएको बलामा मानिस बस्ने बारसहितको फलैँचा हुन्छ । त्यही फलैँचामा बस्नेहरुलाई तलबाट अरुले फनफनी घुमाइदिएर मच्चिने तथा खेलिने पिङ नै रोटेपिङ हो । यसलाई अर्को नाम चमच्चाको नामले पनि चिनिन्छ भने चर्खेपिङ र रोहोटेपिङ समेत भन्ने गरिन्छ ।

रोटेपिङका लागि प्रशस्तै काठको आवश्यकता पर्दछ । रोटेपिङ हाल्न ठूल्ठूला र बलिया दुईवटा खाँबा चाहिन्छ । त्यस्तै काठको झ्याल, बस्नलाई पाटी, आग्लो, साइडमा डण्डीलगायत काठको सहायतामा रोटेपिङ बन्छ । रोटेपिङमा एक पटकमा चार जनासम्म खेल्न मिल्छ । यो बनाउन धेरै समय लाग्ने र झण्झटिलो हुने भए पनि लिङे पिङभन्दा यो पिङ खेल्दा बढी रमाइलो र आनन्दको अनुभूति गर्न पाइन्छ ।

यसरी खेलिन्छ पिङ

रुखको हाँगामा वा खाली तथा सम्म परेको ठाउँमा बाँसका चारवटा खाँबा गाडेर त्यसको माथि टुप्पातिरको भागमा बाँधिएको गरालोमा डोरी (लठो) झुण्ड्याएर त्यही डोरीलाई चपक्कै समातेर मच्चाउँदै पिङ खेल्ने गरिन्छ । यसरी पिङ हाल्ने र खेल्ने कार्यले चाडपर्वको महत्व दर्शाउँछ । 

पिङ हराउने चिन्ता

परम्परागत हाते सिप र प्रविधिको सहायतामा बनाइने पिङ पछिल्लो समय भने लोप हुने अवस्थामा पुगेको छ । पुरानो पुस्ताको सिप नयाँ पुस्तामा हस्तान्तरण नहुनाले केही समयको अन्तरालमै पिङ भनेको के हो भन्ने दिन आउन सक्ने भएकाले बुढापाकाले चिन्ता गरेका छन् ।

आजभोलिका युवाहरुले पिङ, चमच्चा बनाउनेतर्फ ध्यान नदिनाले पिङ हालेर खेल्ने चलन हराउँदै जान थालेको बेनी नगरपालिका–२, खबराका चन्द्रबहादुर कार्कीले गुनासो गर्नुभयो । पिङ र चमच्चाले कला तथा संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्‍याउने हुँदा यी दुवैथरी पिङको संरक्षण गर्नेतर्फ ध्यान दिन आवश्यक देखिन्छ । 

अन्तिम अपडेट: कात्तिक २१, २०७६

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया