फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन,  क्रोएसिया ४-२ गोलले पराजित

 असार ३१, २०७५ आइतबार २३:१:२० | एजेन्सी
unn.prixa.net

क्रोएसियालाई ४-२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । 

रुसमा सम्पन्न २१औं संस्करणको विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो ।

विश्वकपको उपाधि एक पटकभन्दा बढी जित्ने फ्रान्स छैटौं मुलुक बनेको छ । उपाधिसँगै फ्रान्सले ३ करोड ८० लाख डलर पुरस्कार पाएको छ भने उपविजेता बनेको क्रोएशियाले २ करोड ८० लाख डलर पुरस्कार पाएको छ । 

क्रोएसियाको स्वर्ण पुष्ताको रुपमा हेरिएको यस टोलीले पहिलो पटक टिमलाई विश्वकप दिलाउन असफल रह्यो । फाइनलमा क्रोएशियाले सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गरे पनि आत्मघाती गोलमार्फत फ्रान्सलाई अग्रता सुम्पियो ।

मस्कोस्थित लुज्निकी रंगशालामा खेल सुरु भएको १८औं मिनेटमा उपहार गोलमार्फत फ्रान्सले अग्रता लियो । डिबक्स बाहिरबाट एन्टोइन ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बल क्लियर गर्न लाग्दा क्रोएसियाका स्ट्राइकर मारियो मान्जुकिचले बललाई आफ्नै पोष्टको दिशा दिएका थिए । 

तर, १० मिनेट नवित्दै क्रोएसियाले गोल फर्कायो । डोमागोज भिडाको पासमा इभान पेरिसिचले डिबक्स लाइन नजिकैबाट उत्कृष्ट गोल गरेका थिए ।

३८औं फ्रान्सले विवादास्पद पेनाल्टी पायो । अर्जेन्टिनी रेफ्री निस्टोर पितानाले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा क्रोएशियाका इभान पेरिसिकले डिबक्सभित्र ह्याण्ड गरेको भन्दै पेनाल्टी दिएका थिए । 

फ्रान्सका एन्टोइन ग्रिजम्यानले गरेको कर्नर प्रहार क्लियर गर्न लाग्दा इभान पेरिसिचले दुर्घटनाबस ह्याण्ड गर्न पुगेका थिए । तर, रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी दिए जसलाई ग्रिजम्यानले सदुपयोग गर्दा फ्रान्सले पहिलो हाफमा २-१ गोलको अग्रता बनायो । ग्रिजम्यानले जारी प्रतियोगितामा चौथो गोल गरेका हुन् ।

दोस्रो हाफमा फ्रान्सले ६ मिनेटको अन्तरमा दुई गोल गरेर ४-१ को अग्रता बनायो । ५९औं मिनेटमा पाउल पोग्वाले करिव २० यार्डबाट क्रोएशियाली गोलरक्षक सुवेसिचलाई छक्याउँदै गोल गरेका थिए ।

६५औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा १९ वर्षे सुपरस्टार केलियन एम्बाप्पेले करिव २२ यार्डबाट शानदार गोल गरे । उनले पनि विश्वकपमा गोलसंख्या ४ बनाएका छन् । 

यो गोलसँगै एमबाप्पे विश्वकप फाइनलमा गोल गर्ने पेले पछिका एकमात्र किशोर खेलाडी बनेका छन् । सन् १९५८ को विश्वकप जित्ने क्रममा पेलेले फाइनलमा स्वीडेनबिरुद्ध २ गोल गरेका थिए । 

६९औं मिनेटमा इंग्लिस क्लव टोटनह्यामबाट व्यवसायिक फुटबल खेलिरहेका फ्रान्सेली कप्तान ह्युगो लोरिसले गम्भीर गल्ती गरेपछि क्रोएसियाका मारियो मान्जुकिचले गोल गरी अन्तर ४-२ मा झारेका थिए । गोलरक्षक लोरिसले बल समाउन छाडेर आफ्नै पोष्टमा खेलाउन थालेपछि पाएको अवसर माञ्जुकिचले सदुपयोग गरेका थिए । 

त्यसपछि खेलमा गोल हुन सकेन । र फ्रान्स दोस्रो पटक विश्वकप जित्न सफल भयो ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया