अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
२० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनल पुगेर दोस्रो उपाधि जितेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले अर्को कीर्तिमान रचेका छन् ।
आज भएको फाइनलमा क्रोएसियालाई हराएसँगै उनी खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा गोल गर्ने तेस्रो व्यक्ति बनेका छन् ।
सबै राम्रा खेलाडी राम्रा प्रशिक्षक बन्न सक्दैनन् भनिन्छ । तर, त्यस उक्तिमा उनी अपबाद बनेका छन् ।
सन् १९९८ मा घरमै भएको विश्वकपको ट्रफी डेसच्याम्पले उचालेका थिए । डिफेन्सिभ मिडफिल्डका उच्चस्तरीय खेलाडी डेसच्याम्प अहिले प्रशिक्षकका रुपमा फ्रान्सलाई दोस्रो विश्वकप उपाधि दिलाउन सफल भएका छन् ।
४९ वर्षीय डेसच्याम्प सन् १९९८ मा फ्रान्सले पहिलो पटक विश्वकप जित्दा टोलीका कप्तान थिए । उनको नेतृत्वमा साविक विजेता ब्राजिललाई फाइनलमा ३–० ले हराएर फ्रान्सले इतिहास कायम गरेको थियो ।
विश्वकपको बीसौं संस्करणसम्म केवल दुई व्यक्तिले यो सफलता हात पारेका थिए, ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फन्स बेकनबउरले खेलाडी र प्रशिक्षकका रुपमा विश्वकपको ट्रफी उचालेका थिए ।
जागाल्लोले १९५८ र १९६२ मा खेलाडी र १९७० मा प्रशिक्षकका रुपमा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए । यस्तै १९७४ मा खेलाडीका रुपमा विश्वकप जितेका बेकनबउरले प्रशिक्षक बनेर १९९० मा जर्मनीलाई उपाधि दिलाए ।