चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि

 असार ३२, २०७५ सोमबार ६:०:१५ | रासस
unn.prixa.net

'सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ ? 
देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा ?'

प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली र स्वदेश विदेशका वरिष्ठ साहित्यकारहरु सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वरमा आफ्ना कानलाई अडेस लगाइरहनुभएको थियो । 

आफूले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपनालाई स्रष्टाका सिर्जनात्मक कविताका रुपमा आज “चन्द्रागिरिबाट समृद्धिका स्वर” सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले अनुभूत गर्नुभएको थियो । 

कविता वाचन हुनुपूर्व पर्यटकीयस्थल चन्दागिरिको भालेश्वर मन्दिर अवलोकन र नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर स्रष्टाहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हरेक नेपालीले कर्म मौरी झैँ समृद्धिको लागि काम गर्न आग्रह गर्नुभएको थियो । त्यसैअनुरुप कविहरुले पनि श्रम, सीप, सिर्जना, स्वदेशमा रोजगार, आपसी एकता, प्राकृतिक सम्पदाको उपयोग, कुशासनको अन्त्य आदि विषयलाई कविताको धागोले उनेर समृद्धिको माला उपहार प्रदान गरेका थिए । 

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जनायात्रामा भेला भएका थिए । सम्मिलन आयोजनाका परिकल्पनाकार प्रधानमन्त्री ओली पहिलो र अन्तिम दिन स्रष्टाहरुको साथ रहनुभयो । 

छिनछिनमा परिवर्तन हुने चन्द्रागिरिको वातावरणलाई नियाँल्दै नयाँ समृद्धिको सपना देख्ने कविहरुले घाम, पानी, कुहिरोको दृष्यलाई पृष्ठभागमा राखेर हिमाली संस्कृति र सभ्यताको झलक पनि प्रस्तुत गरेका थिए । काठमाडौँका कवि डा रामप्रसाद ज्ञवालीले भाका हालेर सुमधूर स्वरमा यसरी कविता भन्नुभएको थियो :
“उड्दैछन् पुतली स्वयम् सुर लिई आकाशमा फर्रफर 
नेपाली यदि स्वाभिमान छ भने आफैँ उठाऊ शिर” 

गण्डकी प्रदेशको गोरखाका कवि नारायण पोखरेलले शार्दुलविक्रीडित छन्दमै थप्नुभयोे, 
“ऊर्जा छैन विदेशमा कहरले नेपालको तागत 
के समृद्ध बनाउने रहर यो डाकेर अभ्यागत” 

प्रदेश नं ५ को अर्घाखाँचीका कवि बुँद रानाले गजलबाट समृद्धिको तीर्खा यसरी पोख्नुभएको थियो :

“अरु छैन धोको यति गर्न पाउँ 
वतन्को सिपाही भई मर्न पाउँ 
चुनौतीहरुको छ जंघार चर्को 
नमानेर झर्को सधैं छर्न पाउँ” 

कविहरु डिएम कन्दङ्वा, आभाष सेतु सिंह, प्रकाश चापागार्इं, लक्ष्मी माली, लक्ष्मी थापा, हीरा शर्मा, वासुदेव पाण्डे, रघुराम कडरिया, तुल्सी शर्माले समृद्धिका स्वरमा आफ्ना सिर्जना मिसाउनुभएको थियो । 

सम्मिलनमा सहभागी विदेशी स्रष्टाहरुले पनि आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । भुटानका छत्रपति फुयाँल, भारत सिलगडीका ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेँली, दार्जिलिङ्का कर्ण विरह, खस्र्याङ्की उषाकिरण सत्यदर्शी, आसामका विष्णु शास्त्रीलगायत बंगलादेश, थाइल्याण्डलगायत मुलुकका सहभागी कविले कविता प्रस्तुत गर्नुभएको थियो । 

मरेपछि पनि देश हाँसेको देख्ने प्रधानमन्त्रीको सपना

प्रधानमन्त्री केपी शर्मा ओलीले आज हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको छ । 

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहनुभएका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको हो । 

आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै उहाँले आज सहभागीको आग्रहमा उक्त सात मिनेट लगाएर शीर्षकरहित नौ लाइनको कविता रचिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफू कवि नभएको जिकिर गर्नुभयो । 

प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको “खर्पन” कविता केही वर्षअघि सार्वजनिक भएको थियो । उहाँले जेल जीवनमा धेरै कविता र गीत लेखेको भए पनि तिनको संरक्षण गर्न नसकिएको बताउँदै आउनुभएको छ । 

प्रधानमन्त्रीको कविता :

“परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ? 
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ  
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयोस् कमसेकम 
सगरमाथा, लुम्बिनी, मेची र महाकाली 
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली 
सपनामा भए पनि देख्न पाउँ 
चन्द्रागिरिको डाँडोमा आएर सपनामा 
भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ 
तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ 
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।” 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया