काठमाण्डाै-हेटाैँडा रुटका सुमोकाे मनपरी भाडा असुली: यात्रु मर्कामा

 असोज २३, २०७६ बिहिबार १८:४३:२५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडा उपमहानगरपालिका-५, पlप्लेकी मिना श्रेष्ठलाई बिहीबार मकवानपुरको भिमफेदी गाउँपालिकाको देउरालीमा आएपछि टाटा सुमोले दुइजनाको भाडा दुई हजार रुपैयाँ लियो । काठमाण्डौबाट हेटौँडा बजार तर्फ आउने क्रममा बीचमा प्रहरीको झमेला ब्यहोर्नुपर्ला भनेर मकवानपुरमा आएपछि मात्र ना १ ज ४१६६ नम्बरको सुमोले श्रेष्ठसँग बिनाटिकट दुई जनाको भाडा दुई हजार रुपैयाँ लिए ।

काठमाण्डौबाट हेटौँडा आउनका लागि एक जना यात्रुको भाडा चार सय ५० रुपैयाँ ताेकिएकाे छ । तर, दिव्यज्योति नामको सुमोले त्यतिका धेरै भाडा मागेपछि प्रतिवाद गर्दा पनि एक हजार रुपैयाँ नै लिएकाे श्रेष्ठको गुनासो छ ।

काठमाण्डौमा दशैँको टीका लगाएर हेटौँडा फर्कने क्रममा उहाँले बुधबार दिउँसो साढे १२ बजे आफ्ना बुबालाई चढाएकाे मध्य हेटौँडा नामको सुमोले पनि एक हजार रुपैयाँ लिएको बताउनुभयो । 

हेटौँडाबाट बिहीबार छुटेका दर्जनभन्दा बढी सुमो काउन्टरहरुले काउन्टरबाट टिकट नकाटी झण्डै चार सय वटा टाटा सुमोका ४ हजारकाे हाराहारीमा रहेका  यात्रुलाई ६ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म भाडा रकम लिए ।

यात्रु ठग्नेमा भाडाका नम्बर प्लेट भएका सुमोसँगै अरु निजी नम्बर प्लेटका सुमोहरु समेत रहेका छन् । चौकिटोलको संयुक्त सुमो काउन्टर, मेनरोड पिपलबोटमा रहेको काउन्टर, बसपार्क, मेनरोडका काउन्टर सबैमा काउन्टरका कर्मचारीले यात्रुसँग मनलाग्दी रुपमा भाडा लिए । सबैजसो यात्रुहरु तोकिएको ४ सय ५० रुपैयाँभन्दा बढी एक हजार रुपैयाँसम्म तिरेर काठमाण्डौ गए । तर, कहीँ कतै प्रहरीले चालकहरुलाई उनीहरुलाई नियन्त्रणमा लिन सकेन ।

एक दिनमा मात्र ४ हजार जना यात्रु ठगिए । यो ठगी घटस्थापनाकाे दिनदेखि नै सुरु भएकाे थियाे । तर, आजका दिन सम्म पनि मकवानपुर प्रहरीले ठगी गर्ने सुमो भेट्न सकेको छैन । यात्रु ठगिने क्रम भने रोकिएको छैन । 

मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ का इन्द्र प्रसाद तिमल्सिनासहित तीन जना काठमाण्डौबाट नवमीको दिन न्यू हाम्रो सुमो सेवाको ना १ ज ७२०१ नम्बरको गाडीमा चढ्नुभयो । उहाँलाई पनि सुमोका मालिक, चालक र काउन्टरका कर्मचारी मिलेर भाडामा ठगी गरे । त्यस सुमोमा एउटै गाडीको भाडा दुईथरीका दरले सुमो काउन्टरमा लिइयो ।

अगाडि सिटमा बस्ने इन्द्र प्रसादलाई एक हजार रुपैयाँ र पछाडि बस्ने श्रीमती र छोरीलाई ८ सय रुपैयाँका दरले सुमोले भाडा लिए । तीन जनाको भाडा २६ सय रुपैयाँ तिर्नुपरेको तिमल्सिनाले बताउनुभयो । हेटौँडाको मेनरोडमै मुख्य कार्यालय रहेको यस सुमोले ठगी गरेको यो पहिलो पटक होइन । काठमाण्डौबाट हेटौँडा आउँदा र हेटौँडाबाट काठमाण्डौ जाँदा यो दशै सुरु र भएदेखि नै हाम्रो सुमो सेवाले यात्रु ठग्ने गरेको गुनासो गरेका छन् । 

टीकाको भोलिपल्टदेखि दुवै तर्फबाट सुमोको ठगी

हेटौँडा–काठमाण्डौ ओहोर दोहोर गर्ने टाटा सुमोहरुले दुवै तर्फबाट यात्रुसँग ठगी गरेका छन् । हेटौँडाबाट काठमाण्डौ जाँदा पनि तोकिएको भन्दा दोब्बर भाडा लिने र काठमाण्डौबाट हेटौँडा आउँदा पनि सुमोले भाडामा ठगी गर्ने गरेका छन् ।

दशैँ अघि घटस्थापनादेखि नवमीको दिनसम्म काठमाण्डौबाट हेटौँडा आउँदा मात्र यात्रु ठगी गरेका सुमोहरुले अहिले हेटौँडाबाट काठमाण्डौ जाँदा र काठमाण्डौबाट हेटौँडा फर्कँदासमेत तोकिएको भन्दा दोब्बर भाडा लिएको टाटा सुमो काउन्टरका एक कर्मचारीले बताए । सबैजसो यात्रुहरुको गुनासो पनि त्यही छ । सुमोले दुवैतर्फ कृत्रिम अभाव सृजना गरेर यात्रुसँग ठगी गरेकाे पाइएको छ । 

एक तर्फबाट रित्तो हिँड्नुपरेको सुमोका मालिकहरुको भनाइ

टीकाको भोलिपल्टदेखि हेटौँडाका सुमो काउन्टरहरुमा यात्रुहरुको भिड छ । काठमाण्डौबाट हेटौँडा आउनेहरु पनि काठमाण्डौको बल्खुमा सुमो कुरेर बसेका छन् । सुमो आइहालेमा यात्रुहरु झम्टिएर सिटमा बस्न खोज्छन् । तर, एक जनाको एक हजार रुपैयाँ भाडा तिर्दा पनि सुमो काउन्टरका कर्मचारीले कुराएर राखेको यात्रुहरुको गुनासो छ ।

यता सुमोका मालिकहरु भने काठमाण्डौबाट रित्तो फर्कनुपरेकाले यात्रुसँग बढी भाडा लिनुपरेको बताउँछन् । कुनै पनि सुमोहरु काठमाण्डौबाट हेटौँडा आउँदा रित्तो आएका छैनन् । भरिभराउ यात्रु लिएर एक जनासँग एक हजार रुपैयाँसम्म असुल गरिरहेका छन् । 

ठगी नियन्त्रण गर्न लाग्दै छौँ: प्रमुख जिल्ला अधिकारी

टीकाको भोलिपल्टदेखि दुवै तर्फबाट टाटा सुमोले ठगी गरेको सुनिन आएकाेले नियन्त्रण गर्ने प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताउनुभयो ।

बिहीबारदेखि हेटौँडाको चौकीटोल र भैँसेमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले चेकिङ गरेर यात्रु ठगिएको विषयमा बुझ्ने काम गरिरहेको उहाँले बताउनुभयो ।

यात्रुहरुको केही गुनासो आएकाले यसको नियन्त्रणको लागि आफूहरु लागिपरेको उहाँकाे भनाइ छ ।। तर, हेटौँडाको चौकीटोलमा भने सुमोले ठगी गरेको विषयमा प्रहरीले कुनै पनि चेकिङ गरेको देखिँदैन ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया