चिनियाँ भाषा सिकाउन त्रिभुवन विश्वविद्यालयमा छुट्टै शाखा स्थापना गरिने

 असोज २६, २०७६ आइतबार १७:४८:३१ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - चिनियाँ भाषा सिकाउन त्रिभुवन विश्वविद्यालयमा छुट्टै शाखा स्थापना गरिने भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमणका क्रममा त्रिभुवन विश्वविद्यालयमा चिनियाँ भाषा सिकाउन छुट्टै शाखा खोल्ने सहमति भएको हो । 

आइतबार उच्चस्तरीय वार्तापछि भएको सम्झौतामा त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युशियस इन्स्टिच्युटको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युशियस इन्स्टिच्युटको शाखा स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

गएको भदौमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा गएको भदौ २६ गते चिनियाँ भाषा सिकाउनका लागि ५ सय ‘स्वयंसेवक भाषा शिक्षक’ पठाउने सहमति भएको थियो । 

‘स्वयंसेवक भाषा शिक्षक’ पठाउने समझदारी पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले हस्ताक्षर गर्नुभएको थियो ।  

त्यस बेला भएको सम्झौता अनुसार नै अहिले त्रिभुवन विश्वविद्यालयमा नै चिनियाँ भाषा पढाउनका लागि शाखा खोल्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  
छिमेकी देश चीनसँग लामो समयदेखि विभिन्न क्षेत्रमा नेपालको सम्बन्ध रहदै आए पनि भाषाका कारण समस्या देखिएपछि त्यसलाई सरल बनाउन चीन आफैले चिनियाँ भाषा सिकाउन ‘स्वयंसेवक भाषा शिक्षक’ पठाइदिन लागेको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया