‘सिप्रदी ट्रेनिङ सेन्टरले अहिलेसम्म २६ हजार बढीलाई तालिम दिइसक्यो ’

 असोज २६, २०७६ आइतबार २०:५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडको कारदेखि सर्भिस भेकलसम्म बजारमा उपलब्ध छ । यही कारणले सबै वर्गका मानिसको पहुँचसम्म टाटा पुग्न सकेको छ ।

सिप्रदीले टाटाको उत्पादन बेच्नुका साथै गाडी खरिद गर्ने ग्राहकको सन्तुष्टिमा विशेष ध्यान दिएर गाडीका उपकरण बनाउन र चलाउन सक्ने गरी दक्ष प्राविधिक जनशक्ति विकास गर्न काठमाण्डौको नैकापमा सिप्रदी ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेको छ ।

सन् २००८ मा स्थापना भएको ट्रेनिङ सेन्टरले स्थापनाको १२ औँ वार्षिकोत्सव मनाउँदैछ । यो अवधिमा ट्रेनिङ सेन्टरले कम्पनीका कर्मचारी र कम्पनीभन्दा बाहिरका व्यक्तिसमेत गरी अहिलेसम्म २६ हजार नौ सय नौ जनालाई तालिम दिइसकेको छ ।

सिप्रदीले सुरक्षा निकाय, सरकारी निकाय, सवारी चालक, स्थानीय वर्कसपका प्राविधिक, शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी लगायतलाई अटोमोबाइल्स् सम्बन्धी तालिम दिँदै आएको छ । मेशिनरी वस्तु भएकाले जुनसुकै ठाउँ र समयमा गाडीमा खराबी आउन सक्ने हुँदा सवारी चालक र प्राविधिकलाई तालिम दिने व्यवस्था मिलाइएको छ ।

अटोमोबाइल्स क्षेत्रमा बढ्दो प्रतिस्पर्धासँगै निर्माता कम्पनीले आफ्ना उत्पादनमा नयाँ नयाँ प्रविधिको विकास गर्दै आएको छ । नयाँ प्रविधिका गाडी चलाउन तथा मर्मत सम्भारका लागि प्रविधिसँग अभ्यस्त हुन जरुरी हुन्छ । ट्रेनिङ सेन्टरमार्फत चालक र प्राविधिकलाई नयाँ प्रविधिसँग अभ्यस्त बनाउने तरिकाबारे सीप सिकाउने गरिएको छ ।

टाटाका गाडी प्रयोग गर्ने सबैलाई प्रविधिमैत्री बनाउने काम ट्रेनिङ सेन्टरमार्फत भैरहेको छ । नेपालका धेरैजसो सवारी चालक र वर्कसपमा काम गर्ने प्राविधिक अध्ययनभन्दा अनुभवले यस क्षेत्रमा आएका छन् । ती सबैलाई कम्प्युटर प्रणालीमा अभ्यस्त बनाउने काम पनि ट्रेनिङ सेन्टरमार्फत हुँदै आएको छ ।

‘ट्रेनिङ अन ह्वील’

कम्पनीले अटो मोबाइल्स् क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्रेनिङ अन ह्वील’को पनि व्यवस्था गरेको छ । यो कार्यक्रमअन्तर्गत ट्रेनिङ लिनेले नजानेसम्म र सिकेका कुरा व्यवहारमा उतार्न सक्ने नभएसम्म प्रशिक्षकले सिकाइरहने प्रबन्ध मिलाइएको छ ।

कम्पनीले यो कार्यक्रममार्फत सवारी चालक र प्राविधिकलाई गाडीमै राखेर तालिम दिने गरिएको छ । प्रविधिको विकाससँगै नयाँ नयाँ गाडी भित्रिने क्रम जारी भएसँगै चालक तथा प्राविधिकलाई बजारमा भित्रिएका गाडीसँग अभ्यस्त गराउन कम्पनीले ट्रेनिङ अन ह्विल कार्यक्रम ल्याएको हो ।

(सिप्रदी ट्रेनिङ सेन्टरका तालिम व्यवस्थापक दिपेश पौडेलसँग गरिएकाे अन्तरवार्तामा आधारित)

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया