जामकाे कारण : पार्किङ र सडककाे बनावट

 असोज २७, २०७६ सोमबार १३:९:१५ | सिताराम हाछेथु
unn.prixa.net

काठमाण्डौ – सडक जामको मुख्य कारण सडकको बनावट भए पनि ठूलो समस्या भनेको हाम्रोमा पार्किङकाे उचित व्यवस्था नहुनु हो । जसका कारण सडकमै पार्किङ गर्नुपर्ने अवस्था छ । 

सडकमा पार्किङ नै नहुने कुरा होइन । जस्तैः म ट्रेनिङको क्रममा जापान जादाँ मैले त्यहाँ सडकमा धर्सा तानेर पार्किङ गरेको देखेँ । तर त्यस्तो पार्किङ सीमित समयको लागि अर्थात् एक/दुई घण्टाको लागि, पिक आवर नभएको बेला र गाडीको आवतजावत कम भएको बेलामा हुन्छ । 

तर हाम्रोमा त सडक नै ग्यारेज जस्तो भएको छ । उदाहरणका लागि कुमारीपाटी हेर्नुस्, नयाँ सडक क्षेत्र, दरबार मार्ग सबै ठाँउमा गाडीहरु सडकमै पार्किङ हुने गरेको छ । अझ ट्राफिक प्रहरी नपुगेको गल्ली-गल्लीमा जताजतै पार्किङ गरिएका हुन्छन् । सडकको बनावट ठूलो नै भए पनि यसरी जथाभाबी पार्किङ गर्ने गरेकोले जाम हुने गरेको छ ।  

सडक जामको अर्काे कारण सडकको बनावट पनि हो । चिनियाँ सरकारले बनाएको कोटेश्वर–कलंकी सडक खण्डको १० दशमलव ६ किलोमिटर बाटोको बनावटमा पनि समस्या छ । जसका कारण दुर्घटनामा वृद्धि भैरहेको छ । सडकमा हिँड्नेलाई त्यहाँ बाटो काट्न समस्या छ । त्यो सडक एक सय २० फिट फराकिलो छ, जहाँबाट बाटो काट्नु आफैँमा असुरक्षित छ ।

अब विदेशतिर सडकमा उकालो ओरालो भयो भने सुरुङ बनाएर सहज बनाइएको हुन्छ । नेपालमा भने भौगोलिक विकटताका कारण जस्तो ठाउँ छ, त्यस्तै बाटो लैजानुपर्ने बाध्यता छ । त्यसैले हाम्रो सडकको बनावटमा पनि समस्या छ । 

बाटोमा जेब्रा क्रस, आकाशे पुल, ट्राफिक बत्ती जस्ता अत्यावश्यक पूर्वाधारको पनि कमी छ । यसले गर्दा पनि सडकमा सवारी व्यवस्थापनमा असुविधा पुग्छ र जाम हुन्छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया