आर्थिक अभावले सिञ्जा क्याम्पस संकटमा, क्याम्पस प्रमुखको मासिक तलब ६ हजार

 असोज २८, २०७६ मंगलबार १३:१७:४१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – सिञ्जा क्षेत्रमा स्थापना गरिएको सिञ्जा बहुमुखी क्याम्पस आर्थिक स्रोतको अभावले संकटमा परेको छ ।

विसं २०६७ सालमा स्थापना गरिएको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिञ्जा क्याम्पसमा आर्थिक स्रोत अभावले त्यहाँका शिक्षक तथा प्राध्यापकहरुलाई तलब खान समेत हम्मे–हम्मे भएको हो ।

विद्यालयका २७ विद्यार्थीहरुले मासिक ५ हजारका दरले तिर्ने शुल्कबाहेक केही पनि आर्थिक स्रोत नभएकाले क्याम्पस सञ्चालनमा कठिन भएको क्याम्पस प्रमुख तीर्थबहादुर नेपालले जानकारी दिनुभयो । 

अहिले यो क्याम्पसमा ३ प्राध्यापक र ४ जना कर्मचारी छन् । तर आर्थिक स्रोत नभएका कारण प्राध्यापकको तलब मासिक ६ हजार रुपैयाँ मात्रै खानुपर्ने बाध्यता रहेको क्याम्पस प्रमुख नेपालको भनाइ रहेको छ ।

उहाँले भन्नुभयो ‘सिञ्जा गाउँपालिकाले यस वर्ष उपलब्ध गराएको ५ लाख रुपैयाँले कर्मचारी सबैले दामासाहीका दरले तलब खाएका छौँ ।’ यसो गर्दा आफ्नो तलब मासिक ६ हजार रुपैयाँ पर्न गएको प्रमुख नेपालले बताउनुभयो । सामुदायिक क्याम्पस भएकाले मासिक तलब पनि नहुने र विश्वविद्यालयबाट वार्षिक ५ लाख रुपैयाँ अनुदान आउने रकमसमेत रोकिएको उहाँको भनाइ रहेको छ । 

आंगिक क्याम्पस बनाउन अपिल :

क्याम्पसलाई आंगिक बनाएमा प्राध्यापक तथा कर्मचारीको तलब आउन सक्ने भएकाले मध्यपश्चिम विश्वविद्यालयमा आंगिका लागि भने निर्णय भएको विद्यालयको भनाइ रहेको छ ।

अहिले यो क्याम्पसमा व्यवस्थापन र शिक्षातर्फको कक्षा संचालन भइरहेको छ ।  २६ जना प्राध्यापक र २२ जना कर्मचारी हुनुपर्नेमा एक त दरबन्दी छैनन् भएकालाई पनि पारिश्रमिक नहुँदा समस्या भएको हो । सुरुको वर्षमा भने विश्वविद्यालय अनुदान अन्तर्गत ४३ लाख रुपैयाँ रकम प्राप्त भएको थियो ।

सिञ्जा क्षेत्रको एकमात्र क्याम्पसमा सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरुको भने चासो कम हुँदा क्याम्पस ओझेलमा परेको छ । यसले गर्दा क्याम्पसले गति लिन सकेको छैन । आर्थिक अभावका कारण पुस्तकालय पनि अपुरो छ ।

अन्य शैक्षिक सामग्रीहरु खरिद गर्नसमेत कठिन भएको छ । विसं २०६४ सालमा तत्कालीन संविधानसभा सदस्य नरेश भण्डारीको पहलमा सुरु भएको क्याम्पसमा संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले फर्निचर उपलब्ध गराउनुभएको थियो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया