पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
दैलेख – कर्मचारीको लापर्वाहीका कारण नारायण नगरपालिकाका केही जेष्ठ नागरिक र एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।
पहिलेदेखि सुविधा पाउँदै आएका रेका लाभग्राहीहरुको विवरण अध्यावधिक गर्न छुटाएका कारण भत्ता रोकिएको सेवाग्राहीले गुनासो गरेका छन् ।
नारायण नगरपालिका वडा नं. १ का ७२ वर्षीय चन्द्रबहादुर सुनार बिहान ९ बजेदेखि लाइनमा बसेपछि ११ बजे पालो आयो तर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण निम्ति खाता खुलाएको एनएमबी बैंकले ‘तपाईँको भत्ता आएको छैन’ भन्याे ।
सामाजिक सुरक्षा भत्ताकै लागि खोलिएको खातामा रकम पोष्टिङ्ग नभएकाे देखिएपछि नगरपालिकाले पठाएको नामावली हेर्दासमेत उहाँको नाम नभेटेपछि नगरपालिकामा सम्पर्क गर्न पठाइएको भुक्तानी शाखाका सहायक नेत्र जोशीले बताउनुभयो । बैंकका अनुसार अरुको पनि नाम छुटेको अनुमान गरिएको छ ।
चन्द्रबहादुरले नगरपालिकाको वडा नम्बर-१, का सचिव गोपाल श्रेष्ठलाई भेटेपछि त्यहाँबाट नगरपालिकामा नाम पठाइएको देखियो तर अभिलेख अध्यावधिक गर्दा पञ्जीकरण शाखाबाट नाम छुटेको पत्ता लाग्यो ।
पञ्जीकरण शाखाले अनलाइनमा लाभग्राहीहरुको नाम अध्यावधिक गर्दा इण्टरनेट स्लो भएको र कामको अधिक चापले नाम छुट्न गएको नारायण नगरपालिकाका पञ्जिकाधिकारी मोहन थापाले प्रतिक्रिया दिनुभयो । उहाँले दोश्रो चौमासिकमा समेटेर यो समयको सुविधा समेत थपेर पठाइने बताउनुभयो ।
चन्द्रबहादुरले २०६४ सालदेखि जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउँदै आउनुभएको हो । उहाँकी श्रीमती ७४ वर्षीया जैसरा सुनारले भने असोज २८ गते पहिलो चौमासिकको १२ हजार रुपैयाँ पाउनुभयाे ।
नारायण नगरपालिकाले बैंकमा रकम ढिला पठाएको कारण जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग र दलित बालबालिका समेत २५ सयभन्दा बढी लाभग्राही मध्ये झण्डै ३ सय जनाले मात्र दशैँ अघि बैंकबाट सामाजिक सुरक्षा भत्ता झिक्न पाएका थिए ।
सरकारले सामाजिक सुरक्षा भत्ता पाउने सबै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गहरुको सम्बन्धित व्यक्ति र दलित बालबालिकाको हकमा अभिभावकको नाममा खाता खोल्न अनिवार्य गरे पनि नारायण नगरपालिकाका १–९ वडाका लाभग्राहीहरुको मात्र बैंक खाताबाट रकम दिने गरेको छ ।
पुनर्संरचनापछि नारायण नगरपालिकामा थपिएको वडा नम्बर १० भवानी, ११ बिन्ध्यवासिनी र अरु बाँकी १० वटा स्थानीय तहहरुले जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग र दलित बालबालिकाहरुलाई हातहातमै नगद सामाजिक सुरक्षा भत्ता रकम बाँडिरहेका छन् । गाउँगाउँमा बैंक भए पनि खाता खुलाएका छैनन् ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।