रोजगारदाता परिवर्तन गरेर काम गरिरहेका घरेलु कामदारको विषयमा सरकार चिन्तित छ : मन्त्री विष्ट

 असोज २९, २०७६ बुधबार ११:१९:१५ | उमाकान्त पाण्डे

यूएई – श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता परिवर्तन गरेर काम गरिरहेका घरेलु कामदारको विषयमा सरकार चिन्तित रहेको बताउनुभएको छ ।

मंगलबार बेलुकी यूएईमा कार्यरत नेपालीहरुलाई सम्बोधन गर्दै मन्त्री विष्टले बैधानिक तवरबाट बैदेशिक रोजगारीमा आउने सबै नेपाली नागरिकको जिम्मेवारी सरकारले लिने भन्दै अबैध भएर विदेश नबस्न पनि आग्रह गर्नुभयो ।

खाडीमा कार्यरत घरेलु कामदारको पुनः श्रम स्वीकृतिलाई एक हदसम्म खुल्ला गरिएको तर नयाँ घरेलु कामदारका विषयमा थप अध्ययन र व्यवस्था गर्नुपर्ने भएकाले तत्काल खुल्ला नगरिने मन्त्री विष्टले बताउनुभयो ।

अध्ययन र छलफलपछि सरकारले लामो समय एउटै घरमा काम गरिरहेका र श्रम नपाउने डरले नेपाल फर्कन नपाएका घरेलु कामदारको हकमा निर्णय लिएको भन्दै उहाँले रोजगारदाता परिवर्तन गरेर काम गरिरहेका घरेलु कामदारको विषयमा आफूु चिन्तित भएर थप अध्ययन र छलफल गरिरहेको बताउनु भयो ।

खाडीका साउदी, कतार, ओमान, यूएई तथा कुवेतबाट ठूलो सँख्यामा घरेलु कामदारको माग आइरहेको तर नेपाली नागरिकको शतप्रतिशत सुरक्षाको ग्यारेन्टी नहुँदासम्म नयाँ घरेलु कामदारका लागि अनुमती नदिने मन्त्री विष्टले स्पष्ट पार्नुभयो ।

‘बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थालाई अन्त्य गर्छौं’

मन्त्री विष्टले बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्न सरकार लागि परेको पनि बताउनुभयो । उहाँले गएको वर्ष १ लाख ८७ हजार नागरिकलाई स्वदेशमा रोजगारी सृजना गरेको उहाँको भनाई थियो ।

यो वर्ष न्यूनतम ५ लाख नागरिकलाई रोजगारी प्रदान गर्ने सरकारको प्रतिबद्धता रहेको भन्दै उहाँले बाँच्नैका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न योजना अनुरुप आफूहरुले काम गरिरहेको दावी गर्नुभयो ।

श्रम सम्बन्धी नयाँ संरचनाका लागि नीति, नियम बनाउँदा, निर्देशिका जारी गरेर नयाँ कामको थालनीमा केही बिरोध भए पनि श्रमिकहरुकै हित र सुरक्षाको लागि सरकारले काम गरिरहेकोले आफू आफ्नो अडानमा कायम रहिरहने मन्त्री विष्टले उल्लेख गर्नुभयो । 

मन्त्री विष्ट आज बुधबार दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौं आबुधाबी डाईलगमा सहभागी हुन मंगलबार दिउँसो यूएई आउनु भएको हो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया