विभिन्न कारण देखाएर काम नछोड्न साउदीमा रहेका नेपालीलाई दूतावासको आग्रह

 असोज २९, २०७६ बुधबार १२:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा कार्यरत नेपाली कामदारले विभिन्न कारण देखाइ काम छाड्न थालेको भन्दै त्यसो नगर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

पछिल्लो समय रोजगारीका लागि साउदी अरब पुगेको हप्ता दश दिनमा नै कम्पनी राम्रो नरहेको, भनेअनुसारको सुविधा नदिएको, मेडिकल नगरेको, मेसको खानाले सञ्चो नगरेको, बिरामी हुँदा कम्पनीले उपचार नगरेको लगायतका कारण देखाइ काम छोड्ने नेपालीको संख्या बढेको भन्दै त्यसो नगर्न दूतावासले आग्रह गरेको हो ।

यसरी काम छोड्दा रोजगारदातालाई मात्र बलियो बनाउने र समस्या समाधानमा झन् अप्ठ्यारो पर्न जाने दूतावासको भनाई छ । कुनै समस्या भएमा सम्पर्क गर्न पनि दूतावासले भनेको छ ।

नेपालमा म्यानपावर कम्पनीका प्रतिनिधिले साउदीमा गर्ने रोजगारीका विषयमा के भनेका थिए भन्दा पनि आफूसँग भएको सम्झौतापत्रमा के छ र त्यसमा उल्लेख भएअनुसार रोजगारी र सुविधा पाएको छ छैन भन्ने कुरा प्रष्ट भएर मात्र समस्या राख्नुपर्ने दूतावासले जनाएको छ ।

यस्तै चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्ने नेपालीको संख्या बढेको भन्दै यसप्रकारका कार्यहरुमा संलग्न नहुन एवं कार्यस्थलमा अत्यन्त चनाखो र सजग हुन पनि दूतावासको अनुरोध छ ।

लामो समयसम्म एउटै कम्पनीमा काम गरेका नेपालीहरु सेवा करार समाप्त गरी स्वदेश फर्कने समयमा केही कम्पनीहरुले विभिन्न वहानामा लामो सेवा गरे वापत कम्पनीबाट पाउने सुविधाहरु नदिने गरेका गुनसा बढेका छन् ।

यस्तै महिनौंसम्मको तलव नदिने, अकमा (परिचयपत्र) नवीकरण नगरिदिने लगायतका प्रवृत्तिहरु प्रशस्त देखिएकाले समयमै चनाखो भइ आफ्नो समस्याका बारेमा साउदी श्रम कार्यालयमा निवेदन दिने र त्यसको लिखित जानकारी दूतावासमा उपलव्ध गराउनुपर्छ ।

सेवा करार सकिएपछि आफूले पाउने तलव एवं सुविधाहरु दिन कम्पनीले बहानावाजी वा आलटाल गरेमा श्रम कार्यालयमा निवेदन दिन पनि दूतावासले आग्रह गरेको छ । 

यस्तै कतिपय नेपालीहरुका परिचयपत्र (अकामा) प्रयोग गरी विदेशी नागरिकहरु आपराधिक कार्यमा संलग्न हुने गर्छन् । उनीहरुको गल्तीकोे सजाय निर्दोष नेपाली कामदारहरुले भोग्नुपरिरहेको भन्दै त्यसप्रति आफू सजग हुन र अकामालाई सुरक्षित साथ राख्न, हराएमा तुरुन्त प्रहरीलाई खबर गर्न र कसैलाई पनि अनावश्यक अकामाको सक्कल वा फोटोकपि नदिन दूतावासले सजग गराएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया