देशका धनी र हुनेखानेहरुले सरकारले गरेका काम देखेनन् : प्रधानमन्त्री ओली

 असोज २९, २०७६ बुधबार १३:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका धनी र हुनेखानेहरुले सरकारले गरेका काम नदेखेको बताउनुभएको छ ।

दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डौको भृकुटीमण्डपका गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा गरिब दुःखी र मध्यम वर्गले सरकारका कामको प्रशंसा गरेको र उनीहरुको जीवनस्तरमा सुधार भैरहेको तर धनाढ्यहरुले सरकारले केही गरेन भनेर आलोचना गरेको आरोप लगाउनुभयो ।

उहाँले केही भएन भन्नेहरुलाई भए/नभएको थाहा पाउन बुढाबुढीलाई गएर सोध्न पनि आग्रह गर्नु भयो । ‘केही पनि भएन भन्नेहरुले आँखा चिम्लेर भन्ने होइन, बुढाबुढीलाई गएर सोध्नु पर्‍यो के–के भएका छन भनेर ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘बुढाबुढीको स्वास्थ्य बीमा गरिएको छ, फरक पर्‍यो कि परेन ? सबै नेपालीलाई सय रुपैयाँ दिएर बैंक खाता खोल्न लगाइएको छ, नेपालको पानीमा जनताको लगानी भन्ने अभियान चलाएर सबैलाई उर्जामा सेयर होल्डर बनाइएको छ, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रातारात काम गरेर ठूलो जहाज पनि बस्न सक्ने व्यवस्था गरिएको छ, यसले मुलुकमा भिन्नता ल्याएको छ कि छैन ?’

प्रधानमन्त्री ओलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल बन्न लागेको, भैरहवा विमानस्थल बन्ने क्रममा रहेको जस्ता सरकारले गरेका कामहरुको विवरण प्रस्तुत गर्दै केही भएन भन्नेहरुलाई आँखा खोलेर भएका काम हेर्न पनि पटक-पटक आग्रह गर्नुभयो । उहाँले देश निर्माणको अभियानमा एकताबद्ध हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले देशको राष्ट्रिय एकतालाई सुदृढ बनाउन पनि हाम्रा चाडपर्वहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको सुरु गरेको वर्षौँसम्म अलपत्र परेका आयोजना पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब पश्चिम सेती, पञ्चेश्वर, बुढिगण्डकी लगायतका आयोजना निर्माणमा तीव्रता आउने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया