भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको छ : प्रचण्ड

 असोज २९, २०७६ बुधबार १६:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय हित र समृद्धिमा सहायक हुनेगरी देशको अन्तराष्ट्रिय सम्बन्ध विकसित भएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि भारत–चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको विश्वास पनि व्यक्त गर्नु भयो । 

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यसले नेपाललाई उज्वल भविष्यतर्फ डोहोर्‍याउने सुनिश्चित भएको छ ।’ 

अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा व्यक्त गर्नु भएको सदभाव र विश्वासले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको पनि बताउनुभयो ।

दशैँ, तिहार, नेपाल संवत र छठको अवसर पारेर पार्टीले काठमाण्डौमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सरकार देशको समृद्धि र विकासको काममा केन्द्रित भएको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालका राजनीतिक दलहरुले नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्दै त्यसमा आफूलाई गर्व लाग्ने गरेको पनि दोहोर्‍याउनु भयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया