युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
दाङ - मुस्किलले मुग्रेठा खोलामा ६-७ घर छन् । गाउँसम्म पुग्न मोटर बाटो हुने कुरै भएन । गोरेटो बाटो हुँदै राजपुर गाउँपालिका वडा नम्बर-४ मा पर्ने मुग्रेठा खोला पुगिन्छ । याे नेपाल-भारत सीमा नाका क्षेत्र पनि हो । सुरक्षाको दृष्टिले सुरक्षित गाउँ । यही गाउँबाट नेपाल प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ नेतालाई पक्राउ गर्यो ।
मुग्रेठा गाउँमा बैठक हुनुभन्दा एक दिन अघि मात्रै नयाँ मानिसहरुको आउने क्रम सुरु भएको प्रहरी कार्यालयमा गोप्य सूचना पुग्यो । सूचनाको आधारमा प्रहरीले सादा पोशाकका प्रहरी खटायो । केन्द्रीय नेताहरु राप्ती ब्यूरो बैठकका लागि आएको पुष्टि भएपछि प्रहरीले पक्राउ गर्ने योजना बनायो ।
खुल्ला सिमानाका कारण देउखुरीको गढवा र राजपुर गाउँपालिकाको सिमाना क्षेत्रमा विप्लवका नेता कार्यकर्ताको आश्रयस्थल रहेको चर्चा चल्ने गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाका गरी २० जना प्रहरीले बैठक बसिरहेको घर घेरा हालेर पक्राउ गरे । गाडी जाने ठाउँसम्म गाडीमा गएका प्रहरी तीन घण्टासम्म जंगलको बाटो पैदल हिँडेर मुग्रेठा पुगेका थिए ।
त्यहाँ पुग्दा बैठकस्थल वरपर विप्लवका युवाहरु सेन्ट्री बसेर सुरक्षा दिएको पत्ता लागेपछि प्रहरीले रुट परिवर्तन गरेर अर्काे बाटोबाट त्यहाँ पुग्यो र बैठक बसिरहेका नेत्रविक्रम चन्द 'विप्लव'का दाजु चन्द्रबहादुर चन्दसहितका नेताहरुलाई पक्राउ गर्न सफल भयो ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक भट्टराईले उनीहरुको बारेमा शुक्रबार मात्रै सार्वजनिक गरिने बताउनुभयो । सबैलाई बिहीबार दिउँसाे नै जिल्ला प्रहरी कार्यालय दाङमा ल्याएर सोधपुछ सुरु भएको उहाँले बताउनुभयो ।
‘नागरिकता अनुसारको ठेगाना नै बताउँदैनन्’, एसपी भट्टराईले भन्नुभयो, ‘पक्राउ गरिएका सबैले उल्टासुल्टा मात्रै कुरा गर्छन्, हामी छिट्टै घटना सार्वजनिक गर्ने प्रक्रियामा छौँ l’
सम्बन्धित समाचार
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।