स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति: खस भाषाकाे नाटक ‘पम्फा फूल’

 कात्तिक २, २०७६ शनिबार १४:४:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला – राम्रो र सुखी जीवन जिउने चाहना सबैलाई हुन्छ । धन दाैलत र अपेक्षा सबै परिवारको हुन्छ  । 

तर धनकै लागि जे गर्न पनि तयार र परिवारभित्रकै सदस्यले धनको नाश गर्ने गरेका उदाहरण समाजमा प्रशस्तै छन् । यस्तै सन्देश दिने कर्णालीको कला संस्कृति झल्किने खस भाषाको नाटक ‘पम्फा फूल’ काे प्रदर्शन सुरु भएको छ ।

स्थानीय कलाकारहरुको लेखन तथा निर्देशन रहेकाे नाटक ‘पम्फा फूल’ जुम्लाको सदरमुकाम खलङ्गामा रहेको निर्माण व्यवसायी संघको हलमा प्रर्दशन भैरहेको छ । 

स्थानीय कलाकार हिराबिजुली नेपालीको लेखन, गोविन्द सुनारको निर्देशनसहित १३ जना स्थानीय कलाकारको टिमले निर्माण गरेर मञ्चन गरिएको नाटकले धनकै कारण आमाबुवा, दिदीबहिनी, श्रीमतीसहित परिवारका अन्य सदस्यलाई पीडा दिइरहेको कथा प्रस्तुत गर्छ। 

नाटकको सुरुवातमा छोरी पम्फा एउटा सुन्दर बगैँचामा रमाइरहेकी हुन्छिन्, जुनेली रातमा रमाइरहेको त्यो दृश्य भने सपनाको हुन्छ । आमाबुवा, दुई जना दाजुभाइ र एक जना बहिनी रहेको घरमा जेठो छोरा वीरबहादुरलाई सानैदेखि आमाबुवाबाट विभेद गरिएकाे हुन्छ । 

घरमा ठूलो छोराको भूमिका पनि त्यही हुर्काइ अनुसारको हुन्छ । छोरी माइत आएको समयमा उसलाई घर पुर्याउन दुई जना दाजुभाइ जान्छन् । वीरबहादुरले धनको लोभमा गहनाले सजिएकी बहिनीलाई पानीमा डुबाएर हत्या गर्छ । यो घटनाबाट असहमत भएको भाइ भने घर नफर्किएर विदेशिन्छ । 
जेठो दाजु वीरबहादुर भने मृतक बहिनीको गहना बोकेर घर फर्किन्छ । 

घर फर्किएको वीरबहादुरले आमाबावुलाई पनि हप्काउने र गाली गर्न थालेपछि उनीहरु पनि बिदेसिन्छन् । अन्तिममा वीरबहादुर एक्लै बहिनीलाई डुबाएर हत्या गरेको ठाउँमा पुग्छ र पानीमा नाङ्गै डुबेर मर्छ । 

मानिसहरु धन र पैसाको लागि जे पनि गर्न तयार हुने र नाटकमा बहिनी पम्फालाई आफ्नो सम्पत्तिसमेत भाग लाग्छ भनेर देखाइएको दृश्यले शुक्रबार नाटक हेर्न आएका धेरैका आँखा रसायो । नाटक हेर्न टिकट काटेर गएका दर्शकले उल्टै पुरस्कार दिएर फर्किएका छन् । 

नाटक हेरिसकेपछि एसिया इन्टरनेशनल स्कुलका प्रबन्धक मनोज बुढाथोकीले १० हजार रुपैयाँ र स्थानीय लक्ष्मी खत्रीले दुई हजार रुपैयाँ दिने घोषणा गरे । अन्य दर्शकले पनि यथाशक्य रकम दिएर फर्किएका छन् । 

नाटक हेर्न हलमा पुग्नुभएका खस सभ्यताका जानकार रमानन्द आचार्यले नाटकले खस सभ्यता झल्काउने र सामाजिक अवस्था चित्रण गरेको बताउनुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले नाटक खस भाषा संरक्षणको आधार भएको प्रतिक्रिया दिनुभयो । 

नागरिक समाज जुम्लामा संयोजक राजबहादुर महतले स्थानीय कलाकारको मेहनत र नाटकको सन्देश मार्मिक भएको बताउनुभयो । 

कला घर जुम्लाको पहिलो प्रस्तुति ‘पम्फा फूल’ नाटक कात्तिक ८ गतेसम्म सञ्चालन हुने नाटक निर्देशक गोविन्द सुनारले जानकारी दिनुभयो । खस सभ्यता झल्काउने पोसाक, पहिरन तथा भाषाको नाटकले बजार पाउने धेरै दर्शकको प्रतिक्रिया थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया