सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कि बोकेर घरतिर दौडने !

 कात्तिक २, २०७६ शनिबार १८:५०:३५ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएपछि रातारात काठमाण्डौको स्वरुप नै बदलियो । 

एकाएक सडकहरु कालोपत्रे गर्ने, खाल्टाखुल्टी पुर्ने र रंगरोगन गर्नेदेखि नाङ्गो सडकमा वृक्षारोपणसम्मको काम हुन थाले । निर्माण र सरसफाइका काममा सरगर्मी बढ्न थाल्यो । 

यी दृश्य सरसरती हेर्दा लाग्थ्यो, यही गतिले काम हुने हो भने एक वर्षमै नेपालको कायापलट हुने र विकासशील राष्ट्रबाट एक वर्षमै नेपाल विकसित राष्ट्र हुनेछ । दशैँमा टीका थाप्न गएर काठमाण्डौ फिर्नेहरु अचानक आश्चर्यमा परे । त्यस्तो छोडेर गएको काठमाण्डौ त यस्तो भएछ त ? भन्दै लख काट्ने पनि देखिन्थ्यो । सधैँ त्यही बाटो हिँड्ने केही मानिसहरु ‘हँ ! यो कुन ठाउँ हो ?’ भनेर अलमलमा परेको पनि देखियो । 

वास्तवमा झण्डै २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउने भएपछि सरकार त्यहीअनुरुप आफ्नो काम र कारबाहीमा लाग्नपर्ने नै भयो । चीनलाई नेपाल राम्रो देखाउन सकिएला कि नसकिएला भनेर सरकार द्विविधामा थियो । त्यो द्विविधा मेट्न पनि सरकार, कर्मचारी र सम्बन्धित निकाय मर्मत र सम्भार जुट्न पुगे । 

झण्डै एक हप्ताको अवधिमा राजधानीको मूल सडक र चक्रपथ एरियामा तै तै गाडी सजिलैसँग गुडाउन सकिने भयो । राष्ट्रपति सी जिनपिङ नहिँड्ने रुटका बाटोको अवस्थाबारे भने कसैले ध्यान दिएनन् । त्यो बाटो त चिनियाँ राष्ट्रपति हिँड्ने होइन क्यारे भन्दै बेवास्ता गरियो । तर यर्थाथ नागरिकले सास्ती पाउनु त थियो नै । 

भव्य तयारीकाबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला राख्दै गर्दा स्वागत कस्तो हुने हो भनेर नेपाल सरकार चिन्तित थियो । तर सबै कार्यक्रम योजनाअनुरुप समाप्त हुँदै गयो । स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीलगायत मन्त्रिपरिषद्का सदस्य अतिथिलाई स्वागत गर्न विमानस्थल नै पुगेपछि राष्ट्रपति सीले पनि नेपालको स्वागत र आतिथ्य पाएर खुशीले गद्गद भएको टिप्पणी गर्नुभयो । उहाँको यस्तो टिप्पणीपछि नेपाल सरकार झन् दोब्बर खुशी र मख्ख । 

उहाँकै सम्मानमा नेपाली सेनाले सम्मान गारत (गार्ड अफ् अनर) र राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्नुभयो । दुइदिने राजकीय नेपाल भ्रमण राष्ट्रपति सी स्वदेश फिरेपछि भ्रमण कस्तो भयो भनेर टिकाटिप्पणी सुरु हुन थाल्यो । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सफल भएको भन्दै ट्वीट गर्नुभयो ।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलगायत मन्त्रिपरिषद्का अन्य सदस्यहरुले भ्रमण सफल भएको भन्दै टिप्पणी गरे । समग्रमा भ्रमण सफल भएको भन्नेमा धेरैले सहमति जनाए । 

तर सी जिनपिङको भ्रमण सफलताको कुरा चलिरहँदा उहाँलाई स्वागत र मख्ख पार्न तीनकुनेको पार्कमा राखिएका दुबो र बिरुवा चोरी भयो । यसरी स्वागत गर्न तयार पारिएका दुबो र बिरुवा रातारात गायब भएपछि सरकारले केही गरेन भनेर भन्नु पहिले दश पटक सोच्नपर्ने अवस्थाको सिर्जना भएको छ । 

बाेर्डमा नै सबैले देख्न र बुझ्न सक्ने देवनागरी (नेपाली) अक्षरमा याे बगैँचाकाे संरक्षण गर्नु तपाईँकाे जिम्मेवारी हाे बाेटविरुवा र दुबाेलाई क्षति पुर्‍याउन मनाही छ भनेर लेख्दा पनि दुबाे उखेलेर घर घर पुर्‍याउने प्रवृत्ति 'बहादुरी' नभइ 'लाज र शरम हराएकाे संकेत' हाे ।

यता दिगो विकासको कुरा गर्ने अनि उता रातारात संरचना नै गायब हुने प्रवृत्तिले न सरकारलाई सजिलो हुन्छ न त समग्र नागरिलाई नै । यही प्रवृत्ति कायम रहिरहने हो भने हरेक पटक विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा नयाँ संरचना उभ्याउनु नै पर्नेको विकल्प देखिँदैन । 

अनि चिनियाँ राष्ट्रपतिको भ्रमणमा सरकारले यति करोड खर्च गरेछ, भारतीय प्रधानमन्त्रीको भ्रमणमा यति करोड खर्च गरेछ, अब डोनाल्ड ट्रम्प नै भ्रमणमा आउँदा कति करोड स्वाहा पार्ने हो भनेजस्ता खबरको बिगुल फुक्दै हिँड्नुको कुनै तुक छैन । 

यतिमात्र नभइ राष्ट्रपति सी जिनपिङको स्वागत गर्न राखिएका ब्यानर र पोस्टरसमेत च्यातिएको भेटियो । यो घटनाले राजनीतिक दलको आक्रोश अन्यत्रै पोख्न खोजेको जस्तो देखियो । देशभित्रको कुरालाई किन अन्तर्राष्ट्रियकरण गर्नु उचित होला त ? 

र समग्रमा पहिला आफ्नो प्रवृति सुधारेर मात्र सरकारको कमी, कमजोरी औँल्याउनु नै बुद्धिमता हुन्छ । यस्तो अभ्यास पटक पटक नभएका होइनन् । पहिला आफू सुध्रिनुपर्छ अनि यो नराम्रो, त्यो नराम्रो भनेर टिप्पणी गर्नसम्मको लायक बन्न सकिन्छ ।  

अन्तिम अपडेट: चैत ६, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया