देश विकासका याे वर्ष लागि महत्वपूर्ण हुनेछ: मन्त्री बस्नेत

 कात्तिक २, २०७६ शनिबार २०:२९:१० | मुना हमाल
unn.prixa.net

सुर्खेत – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले देशको विकासको लागि याे वर्ष महत्वपूर्ण हुने बताउनुभएको छ ।  

सरकारले अघिल्लो वर्ष कानुन निर्माण र संरचना निर्माणमा समय खर्चिएको भन्दै यस वर्ष देशको आर्थिक विकास र समृद्धिको लागि महत्वपूर्ण हुने मन्त्री बस्नेतले बताउनुभएको हो ।  

शनिबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले भन्नुभयो, ‘देशको समृद्धि र आर्थिक विकासका लागि सरकार रणनीतिक योजनाका साथ अघि बढेको छ । यो वर्ष देशको विकासका लागि महत्वपूर्ण हुनेछ । आर्थिक, समाजिक विकासले परिणामहरु हासिल हुनेछन् ।’ 

उहाँले  प्रदेशका कामहरु पनि व्यवस्थित हुँदै गएको र विकासको आधार तयार हुँदै गएको उल्लेख गर्नुभयो ।  सरकारले विकासका कुनै पनि काममा कुनै कसर नराख्ने बताउनुभयो । वर्तमान सरकार जन चाहना अनुसार नै अघि बढेको उहाँको भनाइ थियो ।  

मन्त्री बस्नेतले पार्टी एकीकरणको बाँकी काम अन्तिम चरणमा पुगेको बताउँदै बाँकी रहेका जिल्ला र संगठनको कामले तिहारपछि निरन्तरता पाउने बताउनुभयो । 

साथै मन्त्री बस्नेतले आफू कर्णालीको विकासका लागिपरेको बताउनुभयो । उहाँले प्रदेशको समृद्धिका लागि सबै एक हुनुपर्ने भन्दै यहाँको स्रोत साधन अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

फरक प्रसंगमा उहाँले मन्त्री हेरफेरको कुरा हल्ला मात्र रहेको बताउनुभयो । मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको र मन्त्री हेरफेरको कुरा बाहिर आएजस्तो नभएको उहाँले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रिपरिषद् हेरफेर गर्ने  अधिकार प्रधानमन्त्रीलाई हुन्छ । उहाँले आफ्नो सहजताका लागि मन्त्री हेरफेर गर्न सक्नुहुन्छ ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया