गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर तयार, यस्तो देखियो डिजाइन

 कात्तिक ६, २०७६ बुधबार १८:३९:१२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन -  धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ । तयार भएको डीपीआर भरतपुर महानगरपालिकामा एक कार्याक्रमका बीच सार्वजानिक गरिएको छ ।

कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रंगशालाको नमुना तयार गरिएको छ । रंगशालाको प्रवेशद्वारमा गौतम बुद्धको शालिक निर्माण गरिने छ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रंगशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ । 

डीपीआर तयार भइसकेकोले अब कामले गति लिने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले बताउनुभयो । अहिले समान्य काम भइरहेको बताउँदै उहाँले डीपीआर नै आइसकेपछि सबै कामहरु व्यवस्थित र द्रुत गतिमा हुने जानकारी दिनुभयो । 

सरकारको कर छुट गराउन सकेमा रंगशाला तयार गर्न २ अर्ब ६० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नु पर्ने बताउँदै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले समयमै काम सम्पन्न गर्नका लागि सबै पक्षलाई सहयोगको आव्हान गर्नुभयो । 

डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कन्सल्टेन्सीले संयुक्त रुपमा गरेका हुन् । नेपालको क्रियटिभ र भारतको हफिस नामका कन्सल्टेन्सीले डीपीआर तयार गरेका हुन् । रंगशाला निर्माण अवरोध हुँदा डीपीआरको काम पनि रोकिएको थियो ।

रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने मजदुर बस्ने हल,कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी बस्ने घरलगायतका आवश्यक संरचना निर्माण भइसकेको छ । 

रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा ४ वटा द्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमताहरु हुनेछ । आउँदो २५ वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कन गरिएको छ । 

चितवनको रामपुरमा रहेको २० बिघा ६ कट्ठा जमिनमा रङ्गशाला निर्माण गर्न लागिएको हो । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रंगशला तयार हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताउनुभयो ।

रंगशालालाई स्पोट्र्स हबको रुपमा विकास गरिने छ । यो रंगशालामा क्रिकेट मात्र होइन अन्य खेलका लागि उपयोग हुनेगरी बनाइने छ ।

यो रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डीबियोसम्म खेल्न सकिने गरी बनाइने योजना रहेको छ । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ  ।

अन्तिम अपडेट: चैत १५, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया