स्वदेश फर्किँदै वैज्ञानिक : बरु राज्यसँग लड्छौँ, नेपालमै अनुसन्धान सुरु गर्छौँ

 कात्तिक ७, २०७६ बिहिबार १३:५:५४ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – रौतहटका कुन्दनकुमार सागर सिंगापुरको नानयाङ विश्वविद्यालयबाट ‘बायो टेक्निक इन्जिनियरिङ्ग’मा स्नातकोत्तर गरेर गएको वर्ष स्वदेश फर्किनुभयो । एन्टिबायोटिकले शरीरमा विस्तारै काम गर्न छाड्नुको कारण, यसले गर्दा रोग निको नहुने समस्या र विकल्पमा प्रयोग गर्न सकिने औषधिका बारेमा सागरले अनुसन्धान गर्नु भएको हो । नेपालमै पनि एन्टिबायोटिक औषधिले काम गर्न छाडेको र रोग बल्झिन थालेको बिरामीको गुनासो छ ।

तर विस्तृत अनुसन्धान गरिएको छैन । सागरले विश्वव्यापी रुपमै बढ्दै गएको यो समस्याका बारेमा सिंगापुरको सुविधासम्पन्न विश्वविद्यालयमा अनुसन्धान गरेर त्यसको प्रयोग नेपालमै गर्ने योजनाका साथ स्वदेश फर्किने बाटो तय गर्नु भएको हो ।

‘जति विदेश बसेपनि देशकै माया लाग्छ । जति नयाँ–नयाँ अनुसन्धान गरे पनि त्यसको प्रयोग नेपालीकै लागि गर्न सकियोस् भन्ने भइरहन्छ’ सिंगापुरबाट फर्केका सागर भन्नुहुन्छ, ‘देशको माया लागेपछि अब स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किएको हुँ ।’

स्वदेश फर्केलगत्तै सागर त्रिभुवन विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद नार्कलगायतका अनुसन्धान केन्द्रमा पुग्नुभयो पनि । तर आश गरेअनुसारको प्रोत्साहन र अनुसन्धान गर्ने वातावरण भने भेट्नुभएन । तर पनि उहाँले आँट मार्नु भएको छैन ।

‘सिंगापुरमा पढायो भने पनि लाखौँ कमाउन सकिन्छ । परिवार पाल्न र घरसम्पति जोड्न समस्या पर्दैन । त्यसमाथि अनुसन्धान गर्दै गएमा नाम र दाम बढ्दै जान्छ’ उहाँले भन्नुभयो ‘तर नेपालमा अनुसन्धान गरेर पेट पाल्न गाह्रो छ भन्ने कुरा थाहा पाएर नयाँ चुनौति लिएर फर्कियौँ ।’

शरीरमा क्यान्सरका कोष फैलिने अवस्था र प्रक्रियाका विषयमा विद्यावारिधि गरेका पोखराका सागर रेग्मी स्वदेश फर्केको एक महिना मात्रै बित्यो । कुन्दन पढ्ने विश्वविद्यालयबाटै विद्यावारिधि गरेका रेग्मीले स्वदेश फर्किदा सिंगापुरको झण्डै डेढ दशक बसाइ टुंग्याउनुपरो । र पनि पश्चाताप मान्नु भएन । तर काठमाण्डाै फर्किएको भोलिपल्टै परिवार र साथीभाइले प्रश्न गरे, ‘नेपाल फर्केर के गर्छौ ?’ रेडिमेड जवाफ नभए पनि कुन्दनले मनमनै भन्नुभयो, जे सकिन्छ, त्यही गर्छु । 

अनुसन्धानको वातावरण आफैँ बनाउँछौँ

काठमाण्डौमा भएको तीन दिने युवा वैज्ञानिक सम्मेलनमा भेटिनु भएका कुन्दन र सागरलाई हामीले पनि त्यही प्रश्न दोहो¥यायौँ । यो प्रश्न झर्न नपाउँदै सागरले प्रतिप्रश्न गर्नुभयो, ‘नेपालमा वैज्ञानिक अनुसन्धान गर्ने वातावरण छैन । लगानी झनै छैन । सरकारले पर्याप्त बजेट नै छुट्याउँदैन । अनुसन्धान गरिरहेका वैज्ञानिकलाई प्रोत्साहन हुँदैन । अब तपाइँ नै भन्नुस्, वातावरण कसले बनाउने  त ?’

अनुसन्धान निकायमा हुने राजनीतिक हस्तक्षेप, दलीय नियुक्ति, भ्रष्टाचार, अनियमितता र आफ्ना लागिमात्रै फाइदा सोच्ने पदाधिकारीको मानसिकताले विज्ञान र प्रविधि क्षेत्र सधै ओझेलमा परेको ज्ञान सागरलाई राम्ररी छ । तर सधैँ यसरी चल्दैन । सबैले वातावरण छैन भनेर भाग्दै गएमा नेपालमा अनुसन्धान नै सुरु हुँदैन । नयाँ नयाँ कुराको अनुसन्धान र आविष्कार भएन भने देश बन्दैन ।

अब भागेर होइन, डटेर नेपालमै अनुसन्धानको वातावरण बनाउनुपर्छ र थोरै भएपनि देश विकासमा योगदान दिनुपर्छ भन्नेमा सागर र कुन्दन दुबै जना एकमत छन । अरुले गर्लान् भनेर भर परेर होइन, आफैँले गर्नुपर्छ भन्ने यथार्थ पनि दुवै जनालाई बोध छ ।

‘सिंगापुरबाट फर्केपछि म एक महिना चीन बसेर आएँ । सिंगापुर र चीनको जस्तो विश्वविद्यालय, प्रयोगशाला, अनुसन्धानका लागि चाहिने स्रोत साधन र सेवा सुविधा हामीसँग छैन’ सागरले वास्तविकता देखाउँदै भन्नुभयो, ‘तर हामी त्यताको ज्ञान सिकेर मात्रै आएका छैनौँ । संरचना र पद्धति निर्माणको वास्तविकता पनि देखर आएका छौँ । त्यसै अनुसार यता पनि वातावरण बनाउछौँ ।’

सागरको भनाइमा सही थप्दै कुन्दन भन्नुहुन्छ, ‘स्वदेश फर्केर कत्ति ठक्कर खायौँ भन्ने कुरा हामीलाई मात्र थाहा छ । हामीलाई यो पनि थाहा छ की, यो केही पनि होइन । ठक्कर खानै बाँकी छ । किनकी हामीलाई आशाको दियो बाल्नुछ । निराश भएर विदेश फर्केका धेरै वैज्ञानिकलाई उत्साहित बनाएर स्वदेश फर्काउनुछ । नेपालमा पनि अनुसन्धान गर्ने वातावरण छ भनेर प्रमाणित गर्नुछ । यो सजिलो छैन । तर असम्भव छैन ।’

बरु राज्यसँग लड्छौँ, तर फेरि विदेश फर्किदैनौँ 

दक्षिण कोरियाको एक विश्वविद्यालयबाट विद्यावारिधि गरेका हेटौँडाका सुवास अधिकारी लाखौँ तलब छाडेर स्वदेश फर्किनु भएको छ । उहाँको उद्धेश्य पनि कुन्दन र सागरको भन्दा फरक छैन । तर उद्धेश्य प्राप्तिका लागि सजिलो छैन । त्यसका लागि आन्दोलन गर्न पनि तयार रहेको सुवासको भनाइ छ ।

‘वर्षौँसम्म अनुसन्धान गर्ने वातावरण बनेन । ठूलो कुरा राज्यले अझै पनि विज्ञान र प्रविधिको विकासलाई प्राथमिकतामा राखेन’ उहाँले भन्नुभयो, ‘तर अब विज्ञान र प्रविधिको विकास बिना समृद्धि सम्भव छैन । यसका लागि हामी लड्न तयार छौँ । आन्दोलन गर्छौँ । नेपालमै वैज्ञानिक अनुसन्धानको वातावरण बनाउछौँ ।’

अहिले पनि हजारौँ विद्यार्थी अध्ययन र उच्चस्तरको अनुसन्धानका लागि बाहिरिने गरेका छन् । बाहिरिएका विद्यार्थी पढेपछि केही स्वदेश फर्किन्छन् । धेरैजसो उतै हराउँछन । नेपालमा वैज्ञानिक अनुसन्धान गर्ने वातावरण नभएको भन्दै युवा वैज्ञानिक नेपाल फर्किँदैनन् ।

तर कुन्दन, सागर र सुवास आफैँ अनुसन्धानको वातावरण बनाउँछौ भनेर स्वदेश फर्केका मात्रै छैनन्, अनुसन्धान गरेर त्यसको उत्पादन नेपालमै बिक्री गर्ने योजनामा हुनुहुन्छ । ‘हामीले जुन योजनाका साथ विदेशबाट फर्किएका छौँ । यो पूरा गरेर छाड्छौँ’ तीनै जनाले एकै स्वरमा भन्नुभयो, ‘हामीले अनुसन्धान मात्रै गरेकाले त्यसको उत्पादन नेपालमै बिक्री गरेर नागरिकलाई सेवा दिनेछौँ भने देशको आर्थिक बृद्धिद्धर बढाउन सहयोग गर्नेछौँ ।’

सरकारले लगानी बढाउनुपर्‍यो

सरकारले अध्ययन र अनुसन्धानलाई खासै प्राथमिकतामा राखेको छैन । त्रिभुवन विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद नार्क, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लगायतका अनुसन्धान गर्ने निकाय र संस्थाहरुमा आधुनिक प्रयोगशाला छैनन् ।

भएका प्रयोगशालामा पनि अत्याधुनिक उपकरण छैनन् । यी सबै समस्या र बाध्यता देखेपछि निराशा बोकेरे युवा वैज्ञानिक विदेश जाने गरेका छन् । तर सरकार पटक–पटक विदेशबाट वैज्ञानिक फर्काउने भन्न भने छाड्दैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वरिष्ठ वैज्ञानिक सुरेश ढुंगेल अब आफ्नो योजना र उद्धेश्य लिएर फर्केका वैज्ञानिकलाई अनुसन्धान गर्ने वातावरण बनाउन राज्यले बजेट बढाउनुपर्ने बताउनुहुन्छ ।

‘अब सरकारले भाषण गरेर मात्रै हुँदैन । भनेको कुरा व्यवहारमा पनि देखाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘यसका लागि बजेट बढाउनुपर्छ । बजेट बढाएपछि वैज्ञानिकलाई चाहिने सेवा सुविधा र अनुसन्धानको वातावरण दिनुपर्छ ।’

अन्तिम अपडेट: कात्तिक २६, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

2 Comments

  • Manoj Kamtee

    Oct. 25, 2019, 5:03 p.m.

    Congratulations to all the researchers who love to engage with R&D. Be very clear with your mission, vision and goals. Put your knowledge and effort on research that can add value to the life of common people of the world. Keep moving forward, Never give. Nothing is impossible. All the best.Have faith in your self. Keep connectecting, concentrating and communicating on ideas that can make difference. All the best💐💐💐

  •  0 Reply
  • Jibananda pandey

    Oct. 25, 2019, 9:54 a.m.

    Its good efforts go ahead dear we are always with you.eruption of the positivity should be initiated through ourselves.Never come back even a step on positive transition dear brother.😊

  •  0 Reply

तपाईको प्रतिक्रिया