राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

 कात्तिक ७, २०७६ बिहिबार १८:२२:३१ | रासस
unn.prixa.net

काठमाण्डाै - राष्ट्रकवि माधव घिमिरेलाई विक्रम संवत् २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित त्यस पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

यसैगरी प्रतिष्ठानले त्यही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकारलाई प्रदान गरियो । ती पुरस्कारको राशि ५० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्जीलिङको मुखपत्रका रुपमा त्रैमासिक रुपमा दियालो प्रकाशन हुँदै आएको छ । यसका प्रधान सम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जीलिङका अध्यक्ष डाक्टर चन्द्रकुमार राई हुनुहुन्छ ।

यसैगरी उन्नयनका प्रधान सम्पादकमा अच्युतरमण अधिकारी हुनुहुन्छ । कार्यक्रममा ती पत्रिकाका सम्पादक डाक्टर राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरुपमा पुरस्कृत गरिराखेको छ । कर्म गर्न छाड्न हुँदैन ।'

राष्ट्रकवि घिमिरेले सरकारले आफू बिरामी पर्दा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइ दिएकोमा धन्यवाद दिनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशीले ती व्यक्तित्वलाई पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गर्नुभयो ।

नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण बाँकी रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया