विराटनगर विमानस्थलमा प्रचण्डलाई ४ घण्टा कुरेका पत्रकारले प्रश्न साेध्नै पाएनन्

 कात्तिक ८, २०७६ शुक्रबार १४:१९:२८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ -  शुक्रबार बिहान ८ बजे पत्रकारहरुलाई विराटनगर विमानस्थलमा बोलाइएको थियो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल आउने कार्यक्रम थियो ।

निर्धारित समयमा नै साढे ९ बजे रक्षा मन्त्री ईश्वर पोखरेल विमानस्थलमा अवतरण गरेलगत्तै आउने भनिएका प्रचण्डको जहाज ढिला हुने सूचना दिइयो । बिहान ९ बजे विमानस्थल पुगेका पत्रकारहरु मन्त्री पोखरेलसँगको कुराकानीपछि अध्यक्ष प्रचण्डको पर्खाइमा थिए । 

कार्यक्रममा उपस्थित पत्रकारहरु पछिल्लो समय पार्टी एकीकरणका बारेमा भैरहेको गतिविधिबारे अध्यक्ष प्रचण्डसँग जान्न चाहन्थे । ९ बजेर ३० मिनेटमा प्रचण्डको जहाज अवतरण हुने भनिए पनि जहाज मध्याह्न साढे १२ बजेमात्र अवतरण भयो ।  

स्वागतका लागि गएका नेताहरु प्रचण्डलाई फूलमाला लगाउनमा व्यस्त देखिन्थे भने पत्रकारहरु फोटो खिच्न र भिडियो खिच्न व्यस्त थिए । लगत्तै विराटनगर विमानस्थलको भीआईपी कक्षमा सधैँजस्तै पत्रकारहरु आफ्नो लाइनमा उभिएर बसे । क्यामेरा, रेकर्डर र डायरीसहित तयारीमा रहेका पत्रकारहरुले प्रचण्ड हलभित्र पसेको र बाहिरिएको पत्तै पाएनन् । 

पत्रकारतर्फ नहेरी उहाँ सिधै बाहिरिनुभयो । प्रश्न सोध्न तयारी अवस्थामा रहेका पत्रकारहरु जिल्ल परे । बिहान ९ बजे नै विमानस्थल पुगेका पत्रकारले झण्डै चार घण्टा कुर्दा पनि खोजेको कुरा नपाएपछि भन्दै थिए - फेरि धोका ।

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया