कारागारमा हाइफाइ भैलो : छानामाथि घिरौँला, कति दिन थुन्छन् हेरौँला !

 कात्तिक ९, २०७६ शनिबार ८:२५:३४ | मिलन तिमिल्सिना
unn.prixa.net

मध्य दशैँमा कारागारको बाटो लागेका सभाको मुखलाई तिहारमा पनि उतैको बास जुर्‍यो । सभाको मुख नै कारागार पुगेपछि हातखुट्टा र शरीरका अरु पाटपुर्जा मात्रै बानेश्वरतिर हुने कुरै भएन ।

त्यसैले सभाको मुख हिँडेपछि सभाको हातखुट्टा र पाटपुर्जा पनि धमाधम कारागारको बाटो तताउँदै छन् । सभा चलाउनेदेखि सभामा चल्नेसम्म कारागारतिर जम्मा भएपछि बैठक पनि उतै बस्ने कुरा भयो ।

संसद भवन र कारागार भवनको बैठकको दृश्य झण्डै उस्तै उस्तै छ । संसद भवनभित्र वरपर हातहतियार नबोकेका मर्यादापालक हुन्थे । कारागारमा चाहिँ हातहतियार बोकेका प्रहरी छन् । दुवै सुरक्षाकर्मी नै हुन् । कहिले सलाम ठोक्छन्, कहिले लाठीले ठोक्न खोज्छन् । उहिले सडकदेखि यसअघि सदनसम्म भोग्दै आएको यो कुरा नौलो पनि होइन । कहिले सुरक्षाकर्मी आफ्नो पछि लाग्छन्, कहिले उनीहरुको पछि लाग्नुपर्छ ।

यी सबै अनुभव बोकेका मानन्यहरुले कारागारमै बैठक चलाउने निधो गरे । सबैभन्दा पहिले सभाको मुख बोले – ‘मानन्य सदस्यहरु, तपाईंहरु सबैलाई स्वागत गर्छु ।’

‘कहाँ तपाईंले स्वागत गर्ने, म पहिलेदेखि नै यहीँ छु, तपाईंभन्दा म अघि आएको, त्यसैले स्वागत गर्ने जिम्मा त मेरो हो’ कुनामा ढुक्रुक्क बसिरहेका रेशमलाल चौधरी बोले ।

‘त्यो पनि ठिकै छ, अलि पहिले तपाईं म कहाँ आउनुभएको थियो, सबैलाई साक्षी राखेर मैले  माला लगाएर बानेश्वरमा स्वागत गरेको थिएँ । अहिले म तपाईं भएतिर आइपुगेको छु, ल तपाईं स्वागत गर्नुस् । बैठक चाहिँ म चलाउँछु’ मुखको आकार घटिसकेका, पहिले ठूलोमुख तर अहिले सानो मुख भैसकेका मान्छेले भने ।

चौधरीले दुई हात फैलाएर सानामुखको स्वागत गरे । त्यसपछि सानामुख बोल्न थाले – ‘मानन्य सदस्यहरु अब बैठकको कारबाही अगाडि बढाउँछु ।’

‘कहाँ कारबाहीको कुरा गर्नुभएको ? कारबाही त हुनै हुँदैन । जाबो ५,७ जना मान्छेलाई जिउँदै इँटाभट्टामा जलाउँदा पनि कारबाही हुन्छ ? हाम्रो पार्टी सभापतिले त कारबाही गर्न पाईंदैन भन्नुभएको छ । तपाईं सानो मुख भैसकेको मान्छेले कसरी कारबाही अगाडि बढाउनु हुँदो रहेछ हेरम हामी पनि’ केही दिनअघि मात्र कारागार पुगेका मोहम्मद आफताब आलम कुर्लिए ।

‘कहाँ यस्तो कारबाही भनेको हो त ? तपाईं हामीलाई त जस्तासुकै गल्तीमा पनि कारबाही हुनु हुँदैन, मैले त बैठकको कारबाही पो भनेको त’ सानामुख बोले ।

‘जे भए पनि कारबाहीको शब्द चाहिँ निकाल्दै ननिकालौं सानामुखज्यू, भित्रैदेखि पीडा हुन्छ’ अघिदेखि चुप लागेर बसेका प्रमोद साह बोले, ‘मान्छेले विमानै अपहरण गर्दा चाहिँ केही नहुने, मलाई विमानस्थलमा यसो तोडफोड गर्दा चाहिँ पक्रनुपर्ने ? यो सरासर अन्याय हो हेर्नुहोस् ।’

प्रमोदको कुरामा सबैले थाल ठटाएर स्वागत गरे । कारागारभित्र टेबुल थिएन । माइक पनि हुने कुरो भएन । त्यसैले भात खान दिएको चम्चा समातेर सबैले थाल ठटाए । 

‘देवेन्द्रराज कँडेलजी पनि आउनुहुन्छ कि हेरौं, अनि बानेश्वरतिर भन्दा यहीँ हामी बलियो हुन्छौं । उहाँ त पहिलेको गृहमन्त्री पनि हो, उहाँको समेत साथमा हामी बलियो हुनुपर्छ । देश यहीँबाट चलाउनुपर्छ हेर्नुस् मान्यहरु’ सानामुखले मुहार अलि उज्यालो बनाए ।

‘यस्ता जाबो ससाना कुरामा पनि फँसाउन पाइन्छ ? मान्छे मार्ने, बलात्कारको प्रयास गर्ने, दोहोरो नागरिकता बनाउने, चोर्ने, ठग्ने, तोड्ने, फोड्ने यी सबै कुरामा अनुभव नभई राजनीति कसरी चल्छ ? अनि राजनीतिमा पारंगत नभै असली नेता कसरी भइन्छ ? अनुभव भएपछि मात्र त्यो कुरा ठिक हो कि बेठिक भनेर निधो गर्न सजिलो हुन्छ’ चौधरीले तर्क गरे ।

‘हेर्नुहोस् साथीहरु यो सबै हामीमाथिको षडयन्त्र हो । केपी वलीजी, प्रचण्डजीहरु हिरो बन्न खोज्दैछन् । हामी सबै मिलेर यो षडयन्त्रको पर्दाफास गर्नुपर्छ । केही दिन पर्खौं, देवेन्द्रजी आउनुहोला । अरु साथीहरु पनि आउलान् । हाम्रो बल बढ्ने पक्का छ । केही पछि त उताभन्दा यतै धेरै हुन्छौं । यहीँ प्रहरी, यहीँ प्रशासन । यहीँ देश चलाउन खप्पिस मान्छे भएपछि सबैथोक यतैबाट गर्ने’ सानामुखको कुराले सबैको मुहारमा चमक देखियो ।

‘त्यसो भए देउसी खेलौं त, भट्याउने काम त सानामुखज्यूकै हो क्यारे’ अरुले प्रस्ताव गरेपछि सानामुखले चश्मा मिलाए । यताउता हेरे । अनि भट्याउन थाले ।

आहै भनभन भाइ हो – के भन्ने ?
जेलमा अझ धेरैलाई – ले भन्ने ।
मनपरी गर्न – दे भन्ने ।
आहै हामी यसै आएनौं – कारागार
ओली राजाले पठाका – कारागार
कहिलेको रिस पोखे – कारागार
हामीले नै ढाक्यौं – कारागार
आहै कर्मको फल – भोग्दैछौं
के गर्ने अब – सोच्दैछौं
हामीजस्तै बाहिर – धेरै छन्
काटीकुटी व्यहोरा – मेरै छन्
आहै केराको थम्मा – भैलीराम
सबै हुन्छौं जम्मा – जिल्लाराम
छानामाथि घिरौंला – कृष्णनाम
कतिदिन राख्छन् हेरौंला – आलममान
यहीँबाटै देखाउँछौं – शक्तिमान
बाहिर हाम्रै साथी छन् – भक्तिराम......

‘अब गीत गाउँ, मलाई त धेरै भट्याउन आउँदैन’ सानामुख पन्छिए ।

‘गीत गाउन त म खप्पिस छँदैछु नि’ चौधरी अघि सरे । चौधरीको स्वरले जेलको चारचौकोस गुञ्जिन थाल्यो । 

जेलभित्रै भयो झिली र मिली
सुन हजुर कर्मले कहाँबाट कहाँ ल्यायो
तै पनि हाम्लाई केही डर छैन
बाहिरबाट साथ, सहयोग अवश्य मिल्नेछ ।............

‘यो त र्‍याप जस्तो भयो, फेरि र्‍याप गीत गायो भनेर सरकारले जेलबाट पनि समातेर लैजाला, अब आशीष दिउँ आशीष’ सानामुख आफैं अघि सरे ।

हाँसको न कुखुराको – चाल नहोस्
हाम्रोजस्तै तपाईंको – हाल नहोस्
भए पनि बाहिर – साथी हुन्
साथीका छाती – माथी हुन्
प्रहरी, पत्रकारलाई – थाहा नहोस्
जे गरे पनि – आहा होस् !

अन्तिम अपडेट: मंसिर १९, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया