घाइते भएर सडकमै बेवारिसे रहेका मुसाे दमाईकाे उद्धारपछि नि:शुल्क उपचार सुरु

 कात्तिक १४, २०७६ बिहिबार २०:३७:२८ | नेत्र शाही
unn.prixa.net

जुम्ला - अपाङ्गता भएका मुसो दमाई सडकमा बेवारिसे र रक्ताम्मे भेटिएपछि उपचारका लागि स्थानीयले उद्धार गरेका छन् । तातोपानी गाउँपालिका–१ राँका गाउँका मुसोलाई सडकमा बेवारिसे ढलिरहेको अवस्थामा उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्‍याइएको छ ।

खाने र बस्ने कुनै आधार नभएपछि सडकमा ह्वीलचेयरको सहयोगमा जीवन बिताइरहेका मुसो दमाई कर्णाली राजमार्गको लाम्राखण्डअन्तर्गत पञ्चेश्वर बहुउद्देश्यीय सहकारी नजिकै बेवारिसे र शरीरमा रगत बगिरहेको अवस्थामा भेटिएपछि स्थानीयले रकम संकलन गरी अस्पताल पुर्‍याएका हुन् ।

तातोपानी गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीयहरुले मुसोलाई अस्पताल पुर्‍याएका हुन् । ह्वीललचेयर लडेर नालीमा खसेपछि उहाँ ३ दिनदेखि सडकमै बास बस्न बाध्य हुनु भएको थियो । ‘तिहारको  दिनमा पनि राम्रोसँग खाना खान पाइएन’, उहाँले भन्नुभयो, ‘छाक टार्नैका लागि अर्को गाउँ हिँड्दै थिएँ । एउटा गाडी माथिबाट आयोे, म तलबाट ह्वीलचेयरमा आउँदै थिए, छेउ लाग्दै थिएँ, नालीमा लडेर पुरानो घाउबाट निरन्तर रगत बग्न थाल्यो ।’

दायाँ खुट्टामा रहेको उहाँको पुरानो घाउबाट निरन्तर रगत बगेर सडक पनि रातो भएको थियो । ‘दिसापिसाब सबै शरीरमै भएको देखिएपछि सानो सानो रकम संकलन गरेका थियौँ । त्यसपछि स्थानीयप्रशासन र प्रहरीमा खबर गरेर उहाँलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको हो’, स्थानीय नागरिक आदिप्रसादन् यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चिया खान आएका बेला बेवारिसे देखेपछि सबै मिलेर नौ हजार रुपैयाँ उठाएर अप्पताल लगिएको थियो ।

स्थानीय लाम्रा प्रहरी चौकीको सहयोगमा उहाँलाई अस्पताल पुर्‍याइएको थियो ।  अस्पतालमा होसमा आएका मुसो दमाईले ‘खाना नखाएको धेरै भयो, भोक लागेको छ’ भनेपछि  उहाँलाई सबैभन्दा पहिले प्रतिष्ठानमा खाना खुवाइएको थियो ।

प्रतिष्ठानमा निःशुल्क उपचार सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले खुट्टामा घाउ भएका मुसोको निःशुल्क उपचार गर्ने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले उहाँको उपचार निःशुल्क हुने बताउनुभयो । विपन्न नागरिकको उपचारको घर प्रतिष्ठान भएकाले प्रतिष्ठानले उहाँलाई निःशुल्क उपचार गर्ने उहाँको भनाइ छ ।

उहाँकोे उपचारमा प्रतिष्ठानका विशेषज्ञ डाक्टर मंगल रावलसहितको चिकित्सकको टोली खटिएको छ । डा. रावलले एक महिना प्रतिष्ठानले उपचार गर्नका लागि उहाँलाई प्रतिष्ठानको विशेष कक्षमा राख्ने बताउनुभयो ।

‘तिहारको अघिल्लो दिनबाट तिघ्राबाट रगत बगेर सडकमै थिएँ । अस्पताल आउन खोज्दा कुनै गाडीले पनि ल्याउन मानेनन् र खान पनि पाइनँ’ मुसो दमाईले भन्नुभयो । उहाँले आफ्नो कोही आफन्त नभएको पनि बताउनुभयो । आफू घाइते भएर काम गर्न नसक्ने भएपछि श्रीमतीले पनि छोडेर गएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया