लोक सेवा क्षयीकरण हुनबाट जोगाएका छौँ : अध्यक्ष मैनाली

 कात्तिक १५, २०७६ शुक्रबार १४:३४:३० | नेत्र शाही
unn.prixa.net

जुम्ला – लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले लोक सेवा क्षयीकरण हुनबाट जोगाइएको बताउनुभएको छ । 

लोक सेवा आयोगको कार्यालय जुम्लाको नवनिर्मित भवन उद्घाटनका लागि जुम्ला आइपुग्नु भएका मैनालीले भन्नुभयो, ‘सम्पूर्ण संस्थाहरु क्षयीकरणमा गएको भन्ने गुनासो आइरहेको सम्बन्धमा लोक सेवा जोगाउने काम भएको छ ।’

उहाँले स्वच्छ संस्थामा धमिला छिर्दा नराम्रो हुने भन्दै यसमा आयोग सचेत रहेको प्रस्ट पार्नुभयो । अध्यक्ष मैनालीले अदालत बाहेकका कुनै प्रकारका हस्तक्षेप लोक सेवा आयोगका लागि सह्य नहुने बताउनुभयो । जुम्लाका कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफ्नो पेसासहित सिर्जनात्मक काममा लाग्नसमेत अनुरोध गर्नुभयो । 

अध्यक्ष मैनालीले संविधानले लोक सेवा समेटेको भन्दै प्रादेशिक स्तरमा संवैधानिक आयोग हुनुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले आफू पदमा आएपछि हुम्ला र डोल्पाको परीक्षाको खर्च महँगो भएकाले जिल्लामै परीक्षासमेत सुरु गरिएको जानकारी दिनुभयो । 

मैनालीले लोक सेवा आयोग योग्यता, निष्पक्षता र स्वतन्त्रताको आदर्श संस्था भएको बताउनुभयो । संस्थाको छवि बचाउन आयोग कटिबद्ध रहेको उहाँले दाबी गर्नुभयो । 

विगत केही वर्षको नतिजा हेर्दा सानो तहदेखि सहसचिव तहसम्म जुम्लाको जनशक्ति पुगेको भन्दै खुशी व्यक्त गर्नुभयो । लोक सेवा आयोगका सचिव आनन्दराज ढकालले लोक सेवाको नयाँ भवनले कार्यसम्पादनमा सहज हुने धारणा राख्नुभयो । 

झण्डै डेढ करोडको लगानीमा भवन निर्माण गरिएको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया