‘फेमिनिस्टलाई धेरैले लेस्बियन ठान्छन्’

 कात्तिक १६, २०७६ शनिबार १३:३०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रख्यात भारतीय लेखिका अनीता नायरले भारतमा कसैले पनि ‘फेमिनिज्म’ को प्रशंसा नगर्ने र यसलाई अपमानजनक शब्दका रुपमा हेर्ने बताएकी छिन् ।

‘साहित्य आजतक–२०१९’ को ‘वी शुड अल बी फेमिनिस्ट’ नामक सत्रमा अनीता नायरसँग मेघना पन्त र केआर मीराले फेमिनिज्म अर्थात नारीवादका बारेमा चर्चा गरेका छन् ।

अनीता नायरले नारीवादका बारेमा आम मानिसको बुझाइ नै गलत भएको बताइन् । उनी भन्छिन्, ‘जब मैले ‘लेडिज कूप’ उपन्यास लेखेँ, मलाई फेमिनिस्ट भनियो । यसले मलाई निकै रिस उठ्यो । यहाँ नारीवादको सम्मान कहिल्यै हुँदैन । यसलाई एक अपमानजनक शब्दका रुपमा बुझिएकाले मलाई निकै दुःख लाग्छ । मेरो विचारमा फेमिनिज्मको अर्थ हरेक महिलालाई आफ्नो हक प्राप्त होस् र कतैबाट पनि आफू कमजोर छु भन्ने महसुस नहुनु हो । प्रायः महिलालाई तपाईँ एक अलग व्यक्ति हुनुहुन्छ त्यसैले त तपाईँ असल महिला हुनुहुन्छ भनेर भनिन्छ ।’

उनले भनिन्, ‘सबैभन्दा पहिले हामी को हौँ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ । हाम्रो जेण्डर हामीबाट के चाहन्छ ? जैविक रुपमा केही अन्तर छ, दुर्भाग्य हामीले त्यसलाई बुझ्दैनौँ । यो केबल पुरुषको सोचको विषय होइन । फेमिनिज्मको अर्थ कुनै महिला अर्को महिलाका बारेमा सहज हुनु पनि हो ।’

‘नारीवादीलाई ‘लेस्बियन’ समेत भन्ने गर्छन्’

लेखिका तथा पत्रकार मेघना पन्तले भनिन्, ‘मलाई सन् २०१३ म फेमिनिस्ट हुँ भन्ने लाग्यो । तर मानिसहरुले मलाई फेमिनिस्ट जस्तो भएर नहिँड्न सल्लाह पनि दिए । उनीहरुको तर्क थियो, म लेस्बियन होइन, म रिसाउँदिनँ पनि । मैले लिपिस्टिक पनि लगाउँछु । मलाई फेमिनिज्म के हो भन्नेबारे बुझ्न धेरै समय लाग्यो । हामी(मैले र शैली चोपडा)ले सन् २०१८ मा किताब लेख्यौँ ‘फेमिनिस्ट रानी’ । दुर्भाग्य यो छ कि मानिसहरु फेमिनिज्मलाई नराम्रो शब्दका रुपमा लिने गर्छन् । मानिसहरु यसलाई पुरुषविरुद्धको विषय मान्छन् ।’

‘केरल जस्तो ठाउँमा पनि बुझ्दैनन्’

मलयालम लेखिका केआर मीराले आफ्नो अनुभव सुनाइन्, ‘एक पटक केरलको एउटा कार्यक्रममा एक वृद्ध व्यक्ति मेरो नजिक आएर सोधे, तपाईँ किन सधैँ फेमिनिज्मको कुरा गर्नुहुन्छ ? के तपाईँ का श्रीमान असल छैनन् ?’

केरल जस्तो ठाउँमा त नारीवादका बारेमा यस्तो सोच्छन् भने अरु ठाउँको अवस्था झन् के होला भनेर प्रश्न गरिन् । उनले २१ औँ शताब्दीमा पनि फेमिनिस्ट किन हुनुपर्छ भन्दै चर्चा गर्नुपर्ने बाध्यता रहेको बताइन् । अहिले पनि धेरै मानिसहरुलाई न्याय र समानता जस्ता शब्दको बारेमा थाहा नभएको मीराले बताइन् । 

अन्तिम अपडेट: कात्तिक २७, २०७६

तपाईको प्रतिक्रिया