यस्तो छ दाङमा मंसिर १४ मा हुने उप चुनावको नालीबेली

 कात्तिक १८, २०७६ सोमबार १०:४९:१२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – मंसिर १४ गते हुने उपचुनावमा दाङमा प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा र घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ मा वडाध्यक्षका लागि मतदान हुँदैछ । यी दुई स्थानको चुनाव जित्नका लागि दाङका दलहरु तीव्र तयारीमा लागेका छन् ।

उम्मेदवारको सिफारिस र घोषणासँगै दलहरु आ–आफ्नो रणनीति अनुसार चुनावी प्रचार–प्रसारमासमेत जुटेका छन् । सबै दलहरुले उम्मेदवार नटुङ्ग्याएका कारण सार्वजनिक कार्यक्रम त अझै सुरु भएका छैनन तर दलहरुले  चुनाव लक्षित बैठक, छलफल र अगुवाहरुसँगको भेटघाट भने सुरु गरिसकेका छन् । चुनाव नजिकिँदै गर्दा स्थानीयमा हुने चियागफदेखि छलफल र अन्तक्र्रियामासमेत चुनाव कस्ले जित्ने भन्नेबारे छलफल हुन थालेको छ ।

तीन वटा दलले उमेदवारको टुङ्गो लगाए, कांग्रेस बाँकी

प्रमुख दलहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी नेकपाले आइतबार उमेदवारको टुङ्गो लगाएको छ । अन्य दुई दलले पनि उम्मेदवारको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । कांग्रेसले पनि एक दुई दिनमै उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ । नेकपाले यही निर्वाचन क्षेत्रबाट प्रदेशसभामा चुनाव जित्नु भएका स्वर्गीय उत्तरकुमार ओलीकी श्रीमती विमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

को हुन् विमला ?

बुवा कालीराम खत्री र आमा लालकुमारी खत्रीकी कान्छी छोरीका रुपमा २०४१ साल माघ २२ गते जन्मनुभएको हो विमला । उनै विमलाले उत्तरकुमार ओलीसँग २०६५ साल वैशाख महिनामा प्रेम विवाह गर्नुभएको थियो । उहाँका २ सन्तान छन् ।

पुख्र्यौली माइती घर रुकुम पूर्वको रुकुमकोट भए पनि उहाँ नेपालगञ्ज उपमहानगरपालिका ५ गणेशपुरमा हुर्कनुभएको हो । कालीराम र लालकुमारीका चार छोरीमध्ये विमला कान्छी छोरी हुनुहुन्छ । निडर, इमान्दार र सक्रिय रुपमा काम गर्ने श्रीमान उत्तरकुमार वलीको साख जोगाउन राजनीतिमा आउने इच्छा राख्नुभएकी विमलालाई अन्ततः पार्टीले विश्वास गरेर प्रदेशसभाको उम्मेदवार बनाएको छ ।

साना दल पनि उम्मेदवार टुंग्याउँदै

साना दलहरु पनि आफ्ना उम्मेदवार टुंग्याउन व्यस्त भएका छन् । यसैक्रममा राष्ट्रिय जनमोर्चाले डिलाराम बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरी साझा पार्टीले शिवकुमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।

यस्तै, समाजवादी पार्टीले पनि प्रदेश सांसदका लागि डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रमुख दुई दलबीच नै मुख्य प्रतिस्पर्धा

चुनावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । नेकपा पछिल्लो चुनावको साख जोगाउन र नेपाली कांग्रेस आफ्नो गुमेको इतिहासको विरासत यथावत राख्ने कसरतमा छन् । तत्कालीन एमालेबाट निर्वाचित सांसद उत्तकुमार ओलीको निधन भएपछि यो क्षेत्र रिक्त रहेको हो । स्वर्गीय ओलीकी पत्नी विमलालाई उम्मेदवार बनाएका कारण अबको चुनाव नेकपाले सहजै चुनाव जित्न सक्ने चर्चा नेकपा कित्तामा चलिरहेको छ । श्रीमान गुमेको सहानुभुति विमलामाथि आममतदाताहरुको रहने र यसले नेकपालाई पुनः यो स्थानमा विजयी बनाउन सहज हुने नेकपाको बुझाइ छ । प्रदेशसभाको चुनाव २०७४ मा प्राप्त आफ्नो पक्षमा आएको विजयी मतलाई नेकपाले यो उपचुनावमा पनि सुरक्षित पार्न चाहेको देखिन्छ ।

यस्तै कांग्रेसले आफ्नो दाबी गरेको आफ्नो गढमा अघिल्लो चुनावमा गुमाएको जनमतलाई आफू अनुकुल बनाउनका लागि अवसरसँगै आफ्नो पकड क्षेत्रलाई सुरक्षित पार्ने चुनौती पनि छ । सरकारको चर्को आलोचनाले आफ्नो पक्षमा जनमत बढ्ने दाबी कांग्रेसको छ । कांग्रेसको आन्तरिक व्यवस्थापनको पाटो चुनाव जित्ने या हार्ने भन्ने विषय बढी निर्णायक बन्ने विश्लेषकहरु बताउँछन् ।

कांग्रेसबाट १४ जना सिफारिस

नेपाली कांग्रेसले १४ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । बढीमा तीनजनाको मात्रै नाम सिफारिस गर्नुपर्ने कांग्रेसको नीति रहे पनि आकांक्षीहरुको संख्या बढेपछि सिफारिस हुनेको संख्या १४ पुगेको हो । सिफारिस हुनेमा कांग्रेसका पुराना नेता केशव आचार्य, जिल्ला सचिव शंकर डाँगी, सुरेश हमाल, किरण शाह, खिमप्रसाद खराल, चुडामणी ढकाल, जगत खड्का,  भरत केसी, मदन रसिक, टिका घर्ती, घनश्याम सेर्पाइली, चल्ता चौधरी, गीता पौडेल र तारा भण्डारी छन् । यस्तै, राप्रपाले एक जनाको नाम मात्रै सिफारीस गरेको छ । उसले भुपाल रावतको नाम सिफारिस गरेको हो ।

यस्तो छ चुनावी इतिहास 

दाङको पश्चिमी क्षेत्रमा पर्ने यो निर्वाचन क्षेत्र कांग्रेसको पुरानो गढका रुपमा चिनिँदै आएको क्षेत्र हो । कांग्रेस नेता खुमबहादुर खड्काले पटक–पटक जित्दै आएको यो क्षेत्रलाई कांग्रेसले आफ्नो पकड क्षेत्रका रुपमा दाबी गर्दै आएको  छ ।

विसं २०४८ सालको संसदीय चुनाव यताका निर्वाचन हेर्ने हो भने कांग्रेसले दुई पटक मात्रै यो क्षेत्रबाट आफ्नो जनमत गुमाएको देखिन्छ । कुल तीन निर्वाचन क्षेत्र रहेको दाङको क्षेत्र नम्बर ३ मा कांग्रेस नेता खुमबहादुर खड्का विजयी हुनु भएको थियो । ०५१ को मध्यावधिक चुनावमा पनि पुनः खड्काले नै यसै क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।

लगातार दुई पटक चुनावमा जितेको यो क्षेत्रमा ०५६ मा आफ्नो ह्याट्रिक पूरा गरेको कांग्रेसबाट त्यो बेला गेहेन्द्र गिरी निर्वाचित हुनु भएको थियो  ।  २०५६ को संसदीय चुनावपछि भएको पहिलो संविधानसभाको चुनावमा कांग्रेसको जनमत खस्कियो ।

तत्कालीन एकीकृत नेकपा माओवादीले जिल्लाका चारै निर्वाचन क्षेत्रमा एकल पकड जमायो । नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य दीपक गिरीलाई पाखा लगाएर माओवादीकी सुष्मा शर्मा घिमिरे विजयी हुनु भएको हो ।

पहिलो संविधानसभा चुनावमा गुमेको जनमतलाई कांग्रेसको त्यसको चार वर्षपछि पुनः फर्कायो । पछिल्लो संविधानसभा चुनावमा यो क्षेत्रमा उम्मेदवार दोहोरिनु भएका दीपक गिरीले आफ्नो निकटतम प्रतस्पर्धी नेकपा एमालेका उत्तरकुमार ओलीलाई पाखा लगाउनु भएको थियो ।
 
दोस्रो संविधानसभा चुनावमा जनमत आफ्नो पक्षमा पारेको कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पुनः जनमत गुमायोे । प्रतिनिधिसभा सदस्यका लागि यो निर्वाचन क्षेत्रमा कांग्रेसबाट चुनाव लड्नु भएका दीपक गिरी तत्कालीन नेकपा एमालेका हिराचन्द्र केसीबाट पराजित हुनु भएको हो । यो क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्रबाट कांग्रेसका बुद्धिराम भण्डारी साढे ६ हजार भन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो ।

तत्कालीन नेकपा एमालेकै उत्तरकुमार ओली यो प्रदेशसभा क्षेत्रबाट विजयी हुनु भएको थियो । २०७४ मा यो निर्वाचन क्षेत्रमा तत्कालीन एमालेका ओली कांग्रेसका प्रतिस्पर्धी भण्डारीभन्दा साढे ६ हजार भन्दा बढी मतले  बिजयी हुनु भएको थियो  । कुल खसेको ४२ हजार ६ सय ४९ मत मध्य ओलीले २३ हजार ९ सय ७० मत र  कांग्रेसका भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गर्नु भएको थियो ।

कति छन त मतदाता ?

यो क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता छन् । जसका लागि ३२ मतदान स्थल र ७७ मतदान केन्द्र तोकिएको छ ।

प्रदेशसभा चुनाव भएका कारण धेरैको ध्यान प्रदेशसभामा भए पनि घोराही नगरपालिका वडा नं १६ को चुनावले स्थानीयलाई तताएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित लक्षीनप्रसाद बुढाको निधन भएपछि वडा नं १६ मा वडा अध्यक्ष पद रिक्त रहेको छ ।

जिल्लाको सदरमुकाम घोराहीमा हुन लागेको यो चुनावलाई पनि निकै चासोका साथ हेरिएको छ । वडा अध्यक्षका लागि नेकपाले लक्षीनप्रसाद बुढाकी श्रीमतीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ । तर नेकपाले निर्णय गर्न सकेको छैन । कांग्रेसले भने यो वडामा नेकपालाई उछिन्दै वडाध्यक्षमा ताराबहादुर डाँगीलाई उमेदवार बनाउने निर्णय गरेको छ ।

यो वडामा निर्वाचनका लागि २ वटा मदतान स्थल र ५ मतदान केन्द्र तय गरिएको छ । यो वडामा ४ हजार ४ सय ५३ जना मतदाता रहेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया