राजनीतिमा लागेर जमिन बेचेँ, जागिर छाेडेँ, आज सही मूल्याङ्कन भयाे : नवनियुक्त प्रदेश प्रमुख यादव

 कात्तिक १८, २०७६ सोमबार २१:१२:१२ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिरहाका धर्मनाथ यादवलाई ५ नम्बर प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिनुहुन्छ । नेकपा एमाले गठनपश्चात नै एमालेमा सक्रिय रहँदै आएका उहाँ सत्तारुढ नेकपाका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

२००० सालमा सिरहाको सुखिपुर नगरपालिका–६, खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु भएको थियो । उहाँले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएको छ ।  उहाँका एक छोरा र छोरी छन् । श्रीमतीको ३ वर्ष अघि नै मृत्यु भइसकेको छ ।

विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीको सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै सक्रिय छु, प्रदेश प्रमुखमा नियुक्त भएसँगै जनतामा राजनीतिप्रतिको आस्था पुनः जागेको छ ।’  उहाँको नियुक्तिमा विपक्षीले समेत पार्टीले सही निर्णय गरेको भन्दैस्वागत गरेका छन् ।

निरन्तर राजनीतिमा सक्रिय रहेका यादव २०३७ सालमा ३ महिना जेल पर्नु भएको थियो । सरकारी कामकाजमा आँच पुर्‍याउने गतिविधि गरेको आरोपमा उहाँलाई जेल हालिएको थियो । त्यसपछि पनि उहाँ शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहँदै आउनु भएको थियो ।

२०४६ को प्रजातन्त्रको पुनर्वहालीपछि उहाँ २०४८ को आम चुनावमा उम्मेदवार बन्न  शिक्षण पेशाबाट दिनु भएको थियो । २०२७ सालदेखि २०४८ सम्म शिक्षण पेशामा रहेका उहाँले पार्टीकै निर्देशनमा राजीनामा दिई सिरहाको तत्कालीन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएको थियो । त्यसपछि पनि यादवले ५१ को मध्यावधि चुनावमा भाग लिए पनि पराजित हुनु भएको थियो ।

राजनीतिमा लागेर सम्पत्ति र जागिर गुमाए पनि उहाँ आफ्नो राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन् । उनकै समकक्षी रामजी यादवले  उमेर र आर्थिक अवस्था कमजोर भएपनि उहाँको पार्टीप्रतिको निरन्तरता भने इमान्दारिताको उदाहरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी राजनीतिकै कारण उहाँँले छोरा–छोरीलाई राम्रो शिक्षा दिन पाउनु भएन, जागिर छोड्नुभयो, भएको सम्पत्ति पनि बेच्नुभयो । तर पनि पार्टीप्रतिको उहाँको आस्था र निरन्तरता बेजोडको छ ।’

यादव आफैले भने पार्टीले प्रदेश प्रमुखजस्तो गरिमामय पदमा आफ्नो नाम सिफारिस गरेर आफ्नो उचित मूल्याङ्कन गरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘मैले राजनीतिमा लागेर नाम कमाएँ तर आफ्नै जग्गा जमिन बेचेँ र भएको जागिर छोडेँ, तर आज पार्टीले सही समयमा मूल्याङ्कन गरेको महसुस भएको छु ।’

सरल र सहज स्वभावका यादवले पार्टीमा लागेर मान्छेको जीवन सकिन्छ भन्ने छाप परेका जनसमुदायमा पनि आफ्नो नाम सिफारिसले नयाँ ऊर्जा थपेको पनि बताउनुभयो ।
सोमबार बिहानसम्म प्रदेश प्रमुखको सिफारिसबारे कुनै जानकारी नभएका यादव गाउँमै हुनुहुन्थ्यो । बिहान १० बजेतिर केही नेताहरुले प्रदेश प्रमुखको नाममा छलफल भएको सुनाएपछि मात्र आफ्नो नाम सिफारिस भएको सूचना पाएको यादवले जानकारी दिनुभयो ।

गाउँमा रहेका यादव सूचना पाएपछि गोलबजार आउनु भएको थियो । गोलबजारमा केहीबेर बसेपछि उहाँ पार्टीका नेताहरुले बोलाएको भन्दै सोमबार नै काठमाण्डौ जानु भएको छ ।

उहाँ प्रदेश प्रमुखमा सिफारिस भएपछि आफन्त र राजनीतिक सहकर्मीहरुको बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ धर्मकान्त यादवसँगै सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ११, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया