सीआईबीको टोली ग्राहक बनेर जाँदा...

 कात्तिक १९, २०७६ मंगलबार ६:५२:३५ | रासस
unn.prixa.net

काठमाण्डौ – विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तर्राष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सीआईबीले योजना बनायो ।

कारोबारी पक्राउ गर्न सहज नहुने देखेपछि सीआईबीको टोलीले ग्राहक बनेर जाने निर्णय गर्‍यो । यही योजनाअनुसार पहिले वन्यजन्तुको छाला हेर्ने अनि मोलतोल गर्ने भनेर उनीहरुलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट काठमाण्डौ बोलायो । 

सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भन्नुभयो, ‘उनीहरुलाई हामीले ग्राहक बनी बोलाएर पक्राउ गरेका हौँ, उनीहरुको गतिविधि काभ्रेमा थियो, भेटौँ–हेरौँ अनि कुरा गरौँला भन्ने कुरा भो, त्यसपछि उनीहरु आए ।’ यही क्रममा चरीबाघको छालासहित काठमाण्डौको सिनामङ्गलमा भेटेर प्रहरीले आइतबार दुई जनालाई पक्राउ गर्न सफल भएको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल बस्ने २४ वर्षीय सरोज लम्साल र रामेछापको दोरम्बा बस्ने २५ वर्षका सुरेन्द्र श्रेष्ठ रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई थप कारवाहीका लागि सोमबार डिभिजन वन कार्यालय काठमाण्डौमा बुझाइएको उहाँले बताउनुभयोे ।

प्रहरीले उनीहरुको साथबाट वन्यजन्तुको छालासमेत बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार उनीहरुविरुद्ध कारबाही गरिने जनाइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया