आमादब्लमको शिखरमा पुगेर निमा र फुरदिकीले शाेकलाई शक्तिमा बदले

 कात्तिक १९, २०७६ मंगलबार १९:३९:१४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४, खुम्जुङका दुई जना एकल महिलाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।

हिमालमा श्रीमान् गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले ६८१२ मिटर अग्लो आमादब्लम हिमालको आरोहण गरेका हुन् । टु विन्डो एक्पिडिसनमार्फत आमादब्लमको शिखरमा पुगेको भन्दै आरोही निमा डोमा शेर्पाले सहयोग गर्दै सबैलाई सामाजिक सञ्जालमार्फत धन्यबाद दिनुभएको छ ।

एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन भन्दै उनीहरुले गएको गएको जेठ ९ गते सगरमाथाको सफल आरोहण गरेका थिए । फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर तथा निमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् ।

हिमालबाट खुशी खोसिएका फुरदिकी र निमा अहिले खुशी खोज्दै हिमालमै गइरहेका छन् ।

आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने उनीहरुको लक्ष्य छ । शोकले कोठामै दिन कटाइरहेका एकल महिलाहरुलाई विभिन्न सिप र योजना प्रदान गरेर संघर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका क्रममा आफूहरु सगरमाथा चढ्न गएको उनीहरुले बताएका छन् ।

श्रीमान गुमाएपछि बाँच्नकै लागि भारी बोकेर हिमालतिर दौडिरहेका फुरदिकी र निमाले गएको जेठमा सगरमाथा र यही सोमबार आमादब्लम हिमालको आरोहण गरेका हुन् ।

आरोही निमाडोमा शेर्पाले एकल महिला ‍सशक्तिकरणको अभियान अन्तर्गत हिमाल आरोहणमा लागेको भन्दै आफूहरु हिमालमा ज्यान गुमाउनेका श्रीमतीहरुको आयआर्जन वृद्धि गर्ने काममा केन्द्रित हुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया