'आवश्यक छैन' भन्दै सूर्योदय नगरपालिकाले लियो ८ वटा अटो रिक्सा नियन्त्रणमा

 कात्तिक २१, २०७६ बिहिबार २०:५९:५२ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलामको सूर्योदय नगरपालिकामा चलेका तीनपांग्रे सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । नगरका लागि तीनपांग्रे सवारी साधन आवश्यक नै नभएको भन्दै नगरपालिकाले केही अटो रिक्सा नियन्त्रणमा लिएको हो ।

अटो रिक्सा चालक अधिकांश वैदेशिक रोजगारीबाट फर्किएकाहरु छन् । नेपालमा नै स्वरोजगार बन्ने भन्दै उनीहरुले अपुग रकम विभिन्न बैंकबाट ऋण लिएर अटो रिक्सा किनेका हुन् । नगरपालिकाले तीनपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि उनीहरुलाई लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता बढेर गएको छ ।

सूर्योदय नगरपालिका-९ का राम कट्टेलले गुनासो गर्दै भन्नुभयो, ‘नगरपालिकाले दर्ता गर्न सिफरिस दिएन, उल्टै प्रहरी लगाएर अटो नियन्त्रणमा लियो ।’ विदेशबाट फर्किएर स्वदेशमा नै स्वरोजगार बन्न खोज्दा पनि स्थानीय तहले सहयोग नगरेको उहाँको दुखेसो छ ।

दैनिक कुदाउने र कमाइ भएको रकमले नै लिएको ऋणको किस्ता तिर्दे आएका अटो चालकको अटो रिक्सा नगरले फिर्ता नहुने भनेपछि उनीहरु अन्यौलमा परेका छन् । ‘बैंकबाट लिएको लोन बैंकले जसरी पनि उठाउँछ । लोन तिर्नका लागि कमाउने भाँडो नगरपालिकाकै आग्रहमा प्रहरीको नियन्त्रणमा छ’, अटो चालक भेषराज आचार्यले अब कसरी ऋणमुक्त हुने भन्ने पीरमा परेको बताउनुभयो ।

नगरपालिकाले भने दश वटा तीनपांग्रे सवारीलाई सिफारिस दिएर नगरमा कुद्न दिइरहेको बताएको छ । आठ वटालाई भने दर्ताका लागि सिफारिस दिन नसक्ने भनेर कार्यपालिकाको बैठकले निर्णय नै गरिसकेको नगरकी उपमेयर दुर्गादेवी भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हाम्रो नगरमा अटोको आवश्यकता नै देखिँदैन, सडकको चाप बढिरहेको छ भोलिको दिनमा आवश्यक परेको खण्डमा त्यसैअनुसार काम गर्नु पर्ला ।’ 

नगरपालिकाका अनुसार, अघिल्लो नगरसभाको निर्णयअनुसार यस्ता सवारीलाई रुट पर्मिट नदिने निर्णय गरेको छ । नगरको सिफारिसबिना यातायात व्यवस्था कार्यालयले अटो रिक्सा दर्ता गर्दैन । तर अन्य गाडीको हकमा भने सोझै यातायात व्यवस्था कार्यालयबाटै हुने गर्दछ । यस्तो अवस्थामा सवारी चालक झनै मारमा परेको उनीहरुको गुनासो छ ।

पाँचौ नगरसभामा प्रस्तुत गरिएको नीति

सूर्योदय नगरपालिकाको पाँचौ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रमको १४ नम्बरमा सामाजिक परिचालन तथा सामाजिक सशक्तीकरणको युवाअन्तर्गत पहिलो बुँदामा युवाहरु रुपान्तरणको सम्वाहक भएको उल्लेख छ । त्यसैले युवालाई उद्यमशीलता विकास गरी स्वरोजगारतर्फ आकर्षित गरिने स्पष्ट पारिएको छ । यसैमा भनिएको छ, ‘नगर क्षेत्रका युवा जनशक्तिलाई सीपमूलक तालिम दिई दक्ष जनशक्ति उत्पादन गरिनेछ ।’

नगरपालिकाको यस नीतिअनुसार, नीतिमा युवालाई स्वरोजगार बनाउने राखे पनि कार्यान्वयनमा नियमविपरीत काम गरेको देखिन्छ । दश वटालाई दर्ताका लागि सिफारिस दिने बाँकी आठलाई नदिने नगरको निर्णयले युवालाई स्वरोजगार बनाउने भन्दा पनि विस्थापित गर्न खोजेको सरोकारवालाको गुनासो रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • विष्णु दाहाल

    Nov. 8, 2019, 10:28 a.m.

    दु:ख लाग्छ मलाइ मेरो देशको यस्तो अनैतिक निर्णय देख्दा ...नेपाल सरकार त्यति बेला खुसि हुन्छ जति बेला युवाहरु दिनानुदिन त्रिभुवन विमानस्थलबाट बन्द काठ्को रातो बाकसमा थुनिएर आउछन / आफ्नै देशमा रोजगारीको अवसर सिर्जना गर्न नसक्ने यो नालायक सरकार अनि आफ्नै ठाउँमा नीति निर्माणको क्षेत्रमा काम गर्न नसक्ने इलामको घटिया सोच भएको सूर्योदय नगरपालिकाका टाउकेहरुलाई के आफ्नै देशमा केहि गर्छु भन्दा पाइदैन कि ? तिमीहरुलाई तलब नपुगेर युवालाई पासपोर्ट बनाउन बाध्यकारी बनाएर पैसा असुल्नु पर्यो/ याद गर यस्ता किसिमका हर्कत गर्दै गयौ भने जनताले आगो लाउने छन् / एक दिन के बैंकको ऋण तिमीहरु तिर्छौ ? उनीहरुको सपना तिमीहरु पुरा गर्छौ ? यो कुरा नबिर्स भोट हालेको औलाको छापको खत अझै ताजै छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया