साहको साइकल सोख : सगरमाथा शिखरसम्म

 कात्तिक २२, २०७६ शुक्रबार १४:१७:५३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – तराई र साइकल पर्याय जस्तै छन् । तराईमा पाको उमेरका महिलाले समेत पाइडल घुमाएको दृश्य पहाडबाट झर्नेहरुलाई नौलो लाग्छ । घर/घरमा साइकल हुन्छ । मानौँ साइकलसँग मधेसीहरुको जीविका जोडिएको छ ।

तराईमा दैनिकी चलाउन अनिवार्य जस्तै बनेको साइकल लिएर एक मधेसी युवा सगरमाथाको आधार शिविरभन्दा पनि माथि पुग्नुभएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ३३ वर्षीय रञ्जित साह जनकपुरदेखि साइकल लिएर कालापत्थर पुग्नुभएको हो । 

गएको भदौ २७ गते साइकल लिएर सगरमाथाको आधार शिविर पुग्नुभएका साह अब साइकल लिएरै सगरमाथाको शिखिर पुग्ने योजनामा हुनुहुन्छ । सगरमाथा आरोहणको तयारी स्वरुप साहले यही कात्तिक १२ गते ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमाल आरोहण गर्नुभयो । पिक प्रमोशन प्रालिको आरोहण टोलीमा सामेल भएर उहाँले सफलतापूर्वक आमादब्लम आरोहण गर्नुभएको हो ।

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल चढेर फर्केपछि साहले उज्यालोसँग भन्नुभयो ‘आमादब्लम आरोहणपछि सगरमाथा चढ्न सक्छु भन्ने आँट थपियो, आउँदो सिजनमा सगरमाथा चढ्ने योजना छ, साइकल लिएरै सगरमाथा चढ्नको लागि भदौमा आधार शिविर लगेको साइकल गोरप्सेकमा राखेको छु ।’ ‘तराई, पहाड, हिमाल, हाम्रो मातृभूमि नेपाल, राष्ट्रिय एकता’ भन्ने नाराका साथ हिमालमा साइकल यात्रा सुरु गर्नुभएका साह आफ्नो अभियान क्षेत्रीय भेदभाव हटाउने उदेश्यका साथ रहेको बताउनुहुन्छ ।

साइकलमा कालापत्थर 

साह जनकपुरदेखि खुर्कोट, घुर्मी, ओखलढुंगा, सोलुखुम्बुको सगरमाथा आधार शिविर (५,३६४ मिटर उचाइ) हुँदै कालापत्थर (५,६४३ मिटर) उचाइमा पुग्नुभएको हो । साहलाई जनकपुरबाट कालापत्थर पुग्न १८ दिन लाग्यो । उहाँ बाटोमा पर्ने जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, पालिकाहरुलगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई अभियानबारेमा जानकारी दिँदै अघि बढ्नुभयो ।

सोलुखुम्बुको खरिखोलासम्म साइकल चलाउन सहज थियो । खरिखोलाभन्दा माथि भने साइकल चढ्नुभन्दा उल्टो साइकललाई बोक्नु पर्यो । तर झण्डै २० किलोको साइकलको भार त्यहाँको प्राकृतिक सुन्दरताले भुलाइदियो । साह भन्नुुहन्छ, ‘पहाडमा साइकल चलाउन र बोक्न सजिलो थिएन तर अठोट र पहाडी सुन्दरताले मन रमाइ रह्यो ।’

चार वर्षदेखि साइकल यात्रा 

जनकपुर–कालापत्थर साइकल यात्रा नयाँ भए पनि उहाँको साइकल यात्रा भने नयाँ होइन । साहले यसअघि नै पाँच पटक साइकलबाट लामो यात्रा गर्नुभएको छ । साहले यसअघि जनकपुर–पशुपतिनाथ (काठमाण्डौ), जनकपुर–हलेसी (खोटाङ), जनकपुर–मुक्तिनाथ (मुस्ताङ), जनकपुर–अयोध्या (भारत), जनकपुर–पाथीभरा (ताप्लेजुङ) को यात्रा गर्नुभएको हो । साहले भन्नुभयो ‘सबै यात्रा क्षेत्रीय भेदभाव हटाउन केन्द्रित हुन्, पछिल्लो यात्रामा भने नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने सन्देश पनि समेटेको छु ।’

मधेश आन्दोलन र साइकल यात्रा

बुवा केशरी र आमा सरस्वतीका कान्छा छोरा रञ्जित सानैदेखि साइकल कुदाउनुहुन्थ्यो । विद्यालय जाँदा मात्र हैन कक्षा सात पढेर विद्यालय छाडेपछि पनि साइकलसँग उहाँको सम्बन्ध रहिरह्यो । जो तराइमा धेरैका लागि अनिवार्य जस्तै छ ।

आफ्नै लागि साइकल कुदाउने साहले मधेस आन्दोलनका बेला भने धेरैपटक अरुका लागि साइकल कुदाउनुभयो ।

आफूभन्दा धेरै तौल भएको मानिसलाई समेत साइकलमा राखेर लामो बाटो पार गराएपछि उहाँको साइकलकलाको चर्चा चुलियो । मधेस आन्दोलनको बेला पहाडी समुदायमाथि आक्रमण पनि भयो । साहले त्यो बेला मेरा आफन्त भन्दै थुप्रै पहाडी समुदायलाई साइकलमा राखेर गन्तव्यमा पुर्‍याइदिनुभयो ।

साह भन्नुहुन्छ ‘मलाई त्यही आन्दोलनका बेला हिमाल/पहाड/तराईबीच विभेद गर्नुहुन्न भन्ने लाग्यो । हामी सबै नेपाली हौँ भन्ने भावनाले एकताको सन्देश बोकेर म साइकल यात्रामा निस्केको हुँ’, साहलाई धेरैले मधेस आन्दोलनले जन्माएको साइकलयात्री भन्छन् ।

साहले कुदाउने गियरबिनाको हिरो साइकल झण्डै २० किलोको छ । साइकलमा चढ्दा गजबको यात्रा भए पनि बेलाबेला साइकल बोक्नुपर्दा भने समस्या हुन्छ । 

आम्दानी पान पसलको, खर्च साइकल यात्रामा  

रञ्जित साह बुवासँगै जनकपुरमा पान पसल गर्नुहुन्छ । ११ महिना पान बेच्ने रञ्जित एक महिना साइकलयात्रामा निस्कनुहुन्छ । अहिलेसम्म पूरा गरेका ६ वटै साइकल यात्राको खर्च पान पसलले नै धानेको छ । आमादब्लम हिमाल चढ्दा ६ लाख रुपैयाँ भन्दा धेरै खर्च भयो, त्यो पनि पान पसलले नै धान्यो ।

साह भन्नुहुन्छ ‘मलाई परिवारले हौसला र खर्च दुवै दिनुभएको छ र त आनन्दले यात्रा गरिरहेको छु ।’ यात्राका क्रममा केही ठाउँमा प्राप्त सहयोग उहाँले बृद्धाश्रमलाई दिनुभयो । भन्नुहुन्छ ‘आफूले गर्ने यात्रामा किन अरुको खर्च गर्ने ? आफ्नै खर्चले पुग्ला नि, कसैले दियो भन्ने लिन्न भन्न मिल्दैन, त्यसमा केही थपेर बृद्धाश्रमलाई दिने गरेको छु ।’

साइकल लिएर सगरमाथा शिखरमा पुग्न पनि पान पसलकै आम्दानीले धान्ने उहाँको विश्वास छ । भन्नुहुन्छ ‘परिवारको साथ भएपछि खर्चको समस्या नहोला, साइकल लिएर शिखरमा पुग्ने अनुमति सरकारले दियो भने आउँदो वसन्त ऋतुमा मेरो इच्छा पूरा हुन्छ ।’

साइकलसहित सगरमाथा आरोहण गर्न उहाँले प्रदेश सरकार हुँदै संघीय सरकारसँग अनुमति माग्ने प्रक्रिया सुरु गर्नुभएको छ । अहिलेसम्म साइकल बोकेरै सगरमाथा शिखरमा कोही पुगेका छैनन् ।

विश्व साइकल यात्री पुष्कर शाहले साइकलको पाङ्ग्रा मात्र सगरमाथाको शिखरमा पुर्‍याउनु भएको थियो । साह आत्मविश्वासकासाथ भन्नुहुन्छ ‘यदी सरकारले अनुमति दिएमा म साइकल बोकेरै शिखरमा पुग्न सक्छु ।’

राष्ट्रिय झण्डा र नेपाल भ्रमण वर्ष २०२० को बोर्ड 

‘तराई, पहाड, हिमाल, हाम्रो मातृभूमि नेपाल, राष्ट्रिय एकता’, रञ्जित साहको नारा हो । साइकलको अगाडि राष्ट्रिय झण्डा राखेर पाँचवटा साइकल यात्र पूरा गर्नुभएका साहले जनकपुर–कालापत्थर यात्रामा भने नेपाल भ्रमण वर्ष २०२० को बोर्ड पनि थप्नुभयो । सरकारको महत्वकांक्षी योजनामा सानो भए पनि सहयोग पुगोस् भनेर भ्रमण वर्षको बोर्ड पनि राखिएको साहले बताउनुभयो । 

राष्ट्रिय झण्डाले उहाँलाई धेरै सम्मान दिएको छ । ‘सामान्य साइकलमात्र लिएर हिँड्दा यो मधेसी किन हिँड्यो भन्थे, तर झण्डा देखेपछि चासो राख्छन्, धेरैले झण्डाको कुरा गरे र सम्मान पनि गरे’ साहले उत्साहित हुँदै भन्नुभयो ‘आम नेपालीमा राष्ट्रप्रति प्रेम छ । अब क्षेत्रीय एकतामा पनि यस्तै प्रेम जगाउनुपर्छ । जो जहाँ रहे पनि हामी नेपाली हौँ । यो कुरा म जनकपुरबाट साइकल लिएर सगरमाथाको शिखरमा पुगेर भन्न चाहन्छु ।’

अन्तिम अपडेट: कात्तिक २६, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया