उपचुनाव: कास्कीमा एक जनाको उम्मेदवारी फिर्ता, बागलुङमा नेकपाका बागी उम्मेदवारले जनमोर्चालाई सघाउने

 कात्तिक २४, २०७६ आइतबार २०:२२:३८ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - आउँदाे मंसिर १४ गते हुने उपचुनावका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ ।

निर्वाचन आयोगले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा भक्तपुर १ को (क), बाग्लुङ २ को (ख) र दाङ ३ को (ख) को प्रदेशसभा सदस्यका उमेद्वारको अन्तिम नामावली प्रकाशित गरेको हो । 

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कास्की क्षेत्र नम्बर २ मा बाहेक अन्य ठाउँका कुनै पनि उम्मेद्वारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

कास्की २ मा विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी २१ जनाको नामावली प्रकाशित भएको छ । कास्की २ मा २२ जनाले मनोनयन दर्ता गरेकोमा स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँको उम्मेदवारी फिर्ता भएसँगै कास्की २ मा २१ जना चुनावी मैदानमा छन् ।

कास्की क्षेत्र नम्बर २ मा नेकपाबाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, राप्रपाबाट रोमबहादुर भण्डारी, विवेकशील नेपाली पार्टीबाट जमुना केसी, साझा पार्टीबाट रजनी शर्मासहित २१ जनाको उम्मेदवारी छ । कास्की २ बाट निर्वाचित रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । 

प्रदेशसभा सदस्यतर्फ भक्तपुर १ क मा  ९ राजनीतिक दल र १० स्वतन्त्र गरी १९, बागलुङ २ ख मा ८ राजनीतिक दल र २ स्वतन्त्र गरी १० जना र दाङ ३ ख मा १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश क मा प्रदेशसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट देवीप्रसाद ढकाल, नेपाली काङ्ग्रेसको तर्फबाट कृष्णलाल भँडेल र नेपाल मजदुर किसान पार्टीको तर्फबाट निरज लवजूलगायत चुनावी प्रतिस्पर्धामा छन् ।

तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिस्काघातका कारण निधन भएपछि भक्तपुर क्षेत्र नम्बर १ को क मा उपचुनाव हुन लागेको हो । 

यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर ३ ख प्रदेशसभा सदस्यको उपचुनावका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपाको तर्फबाट बिमला वली, नेपाली कांग्रेसबाट केशवराज शर्मा आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार सहित १४ जना प्रतिस्पर्धामा छन् । दाङ क्षेत्र नम्बर ३ ख का प्रदेशसभा साँसद उत्तरकुमार वली दुर्घटनामा परेर ज्यान गएपछि उपचुनाव हुन लागेको हो । 

यस्तै बागलुङ क्षेत्र नम्बर २ ख मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि दलबाट आठ जना र स्वतन्त्र २ जना गरी दश जना उम्मेदवार छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका जनमोर्चाका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विकसहित १० जना प्रतिस्पर्धामा छन् ।

बाग्लुङमा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरे पनि नेकपाका नेता शेरमान घर्तीले बागी उम्मेदवारी दिनुभएको छ । उहाँले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि निर्वाचन आयोगले निकालेको उम्मेदवारको सूचीमा भने घर्ती नाम कायमै छ । तर घर्तीले पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएको र जनमोर्चाका उम्मेदवारलाई सघाउने घोषणा गर्नुभएको छ । निर्वाचन आयोगले भोली सोमवार चुनाव चिन्ह प्रदान गर्ने जनाएको छ । 

एक प्रतिनिधिसभा सदस्य र ३ प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका ६४ जनामध्ये ५५ पुरुष र ९ जना महिला रहेको निर्वाचन आयोगले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया