करिडोरले कर्णालीको भाग्य कोर्ने विश्वास

 कात्तिक २७, २०७६ बुधबार १३:५४:५१ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बन्दै गरेको कर्णाली करिडोरले यहाँको बासिन्दामा उत्साह थपेको छ । कर्णाली करिडोरले कर्णालीका पुराना पाँच जिल्ला मात्र नभइ समग्र कर्णाली प्रदेशको रुप नै नयाँ बनाउने स्थानीय बासिन्दाको विश्वास छ ।

सडक बनेपछि सुदूर पश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको हुम्ला, मुगु र कालिकोट जिल्लाका बासिन्दालाई थप फाइदा पुग्ने देखिन्छ । करिडोर निर्माणका लागि नेपाली सेनाले पाँच वर्षअघि जिम्मा पाएसँगै कालिकोट र बाजुराको भूभाग छिचोल्दै सडक हुम्ला पुगिसकेको छ ।

यो सडक भारतको रुपडिया नाकाबाट सुरु भएर कालिकोटकोे खुलालु, लैफु हुँदै बाजुराको जगन्नाथ र हिमाली गाउँपालिका तथा हुम्लाको ताँजाकोट गाउँपालिका र सिमकोट जोडेर तिब्बतको सीमासम्म जोडिन्छ ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले भन्नुभयो, ‘यो सडक कर्णालीको विकासका लागि मेरुदण्ड हुने निश्चित छ ।’

१ सय ९६ किलोमिटर लामो सडकमध्ये  ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्डमा पर्छ ।
सडक बनेपछि गाउँमा परिवर्तनसँगै आफूहरुलाई पनि सजिलो हुने यहाँका बासिन्दाको विश्वास छ । ‘वर्षौंदेखि भेडा, खच्चड र पिठ्युँमा भारी नबोकी खान पाइँदैन थियो, अब पैसा भएको बेला गाडीले ल्याएको खाद्यान्नलगायतका विभिन्न बस्तुहरु किन्न र बेच्न पाइएको छ’, बाजुराको हिमाली गाउँपालिका–५ रुगिनका प्रदिप थापाले भन्नुभयो, ‘पहिले बिरामी हुँदा अकालमा मर्नुपर्ने अवस्था थियो, अब गाडी चढेर अस्पताल जान पाइने भएको छ ।’

बाजुराको कवाडी खोलामा बसेर व्यापार गर्ने बझाङका कुबेर सिंह पनि आफ्नो ठाउँमा सडक पुगेपछि खुशी हुनुहुन्छ ।

‘सामान ल्याउन र लैजानका लागि सजिलो भएको छ । तलबाट नुनतेल आउँछ, यहाँबाट आलु सिमी मास तराइ जान्छ । सामान बेच्न पनि सजिलो भएको छ, यहाँ सामान मन परेन भने अर्डर गरेर चाँडै ल्याउन सकिन्छ । पहिलेकोजस्तो टुटफुट हुँदैन ।’ 

बाजुराको हिमाली गाउँपालिका–२ कवाडीका मानबहादुर थापा भन्नुहुन्छ, ‘अहिले गाडीले सामान ल्याउँछ । कवाडीसम्म गाडीले समान ल्याउँछ यसले गर्दा सजिलो हुन्छ । पहिले पिठ्यूँमा भारी बोक्दा निकै दुःख थियो । बिरामीसमेत बोकेर लैजानुपर्ने अवस्था थियो अहिले गाडी आउँदा धेरै सजिलो भएको छ ।’

करिडोर बनेपछि खाद्यान्नलगायतका विभिन्न बस्तुको बजार भाउ सस्तिने स्थानीय नागरिकले आशा गरेका छन् । करिडोर बनेपछि समयसँगै पैसाको पनि बचत हुने देखिएकाले नागरिकमा उत्साह छाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया