एभीसी सेन्ट्रल जोन भलिबल: नेपाल अपराजित रहँदै १२ अंकका साथ शीर्षस्थानमा

 कात्तिक २७, २०७६ बुधबार १४:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको छ ।

पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो । जितपछि नेपाल उपाधियात्रा पक्का भएकाे छ । 

खेलको वुमन अफ दि म्याच नेपालकी सरस्वती चौधरी घोषित भइन् ।

दुवै टिमले बुधबारको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए । नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा पुग्याे भने समान खेलबाट माल्दिभ्सले ८ अंकमा राेकियाे । प्रतियाेगिताकाे फाइनल खेल शीर्षस्थानकाे दुई टिम नेपाल र माल्दिभ्सबीच हुनेछ । 

नेपालले अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ ।

नेपाल र माल्दिभ्स २ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गरेका हुन् । २ वर्ष अघि पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालीन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले फेरि जित निकालेको हाे ।

त्यतिबेला प्रतिभा माली र सरस्वती चौधरी पनि नेपाली टिममा थिए । नेपाली टिममा अहिले नयाँ र पुराना खेलाडी बराबर छन् भने माल्दिभ्सको टिममा अधिकांश पुरानै खेलाडी रहेका छन् । नेपाल र माल्दिभ्सबीच बिहीबार फाइनल खेल हुनेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया