विप्लव नेतृत्वको नेकपाले जितेको थबाङ–१ मा यस पटक कसले जित्ला ?

 कात्तिक २७, २०७६ बुधबार १४:४७:३८ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ मा हुने वडाध्यक्षको उपचुनावका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कलमबहादुर रोका र स्वतन्त्रबाट भद्रबहादुर झाँक्रीले बुधबार मनोनयन दर्ता गरेको थबाङ गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले बताउनुभयो ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका झाँक्री यसअघि निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । वडाध्यक्षमा उम्मेदवारी दिन मंगलबार मात्रै उहाँले वडा सदस्य पदबाट राजीनामा दिनुभएको थियो । 

सत्तारुढ नेकपाले यसअघिको चुनावमा पराजित ग्रीस पुनलाई उम्मेदवार बनाउने पहिले नै घोषणा गरेको भए पनि स्वतन्त्रबाट निर्वाचित सदस्य झाँक्रीले राजीनामा दिएर अध्यक्षमा उम्मेदवारी दिएपछि फेरि पराजित हुने आशंकामा उसले बुधबार एकाएक जनकबहादुर बुढालाई उम्मेदवार बनाएको हो ।

विप्लव नेतृत्वको नेकपाका नेता फर्कबहादुर बुढासहितको प्यानल त्यस वडामा स्वतन्त्रबाट निर्वाचित भएको थियो । वडाध्यक्ष बुढाको गएको असारमा मस्तिष्कघातका कारण निधन भएपछि थबाङ १ मा वडाध्यक्ष पद रिक्त रहेको थियो । विप्लव नेतृत्वकाे नेकपा निर्वाचन आयाेगमा दर्ता नभएकाले बुढा स्वतन्त्रबाट उम्मेदवारी दिई विजयी हुनु भएकाे थियाे । 

गएको चुनावमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिवंगत बुढाले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार ग्रीस पुनलाई १ सय ३ मतले हराउनु भएको थियो । अहिले वडा नम्बर १ मा १ हजार २ सय ७४ जना मतदाता रहेका छन् भने जनचच्छु प्राविमा दुई वटा मतदान केन्द्र तोकिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया