'अन्तर्राष्ट्रिय विमानस्थलको  भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्नूहाेस्'

 कात्तिक २७, २०७६ बुधबार १७:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले भीआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सचेत गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद, मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुले आफूहरुमाथि हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए ।

त्यसको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सांसद, मन्त्रीहरुले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई थर्काउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न आग्रह गर्नुभयो । उहाँले विमानस्थलको भीआईपी कक्षको प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर सांसदहरुले हेर्न नहुने पनि स्पष्ट पार्नुभयो । मन्त्री भट्टराईले आफूले मन्त्री हुनुअघि कहिल्यै पनि विमानस्थलको भीआईपी कक्षको प्रयोग नगरेको दृष्टान्त पनि समितिको बैठकमा प्रस्तुत गर्नुभयो ।

बैठकमा सांसदहरुले विमानस्थलका कर्मचारीहरुले आफूहरुलाई हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए । आफूहरुमाथि विमानस्थलका कर्मचारीहरुले पियनको जस्तो व्यवहार गर्ने गरेको भन्दै सांसदहरुले आक्रोश पनि  व्यक्त गरेका थिए ।

राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अग्रहरीले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै पार्टीका सांसद प्रमोदकुमार यादवमाथि मुद्दा चलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गर्नु भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया