भर्ना प्रक्रिया स्वच्छ नहुँदा आप्रवासी कामदारको मानव अधिकार जोखिममा

 कात्तिक २७, २०७६ बुधबार १९:२९:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – आप्रवासी कामदारको अधिकार संरक्षणका लागि काठमाण्डौमा भएको अन्तराष्ट्रिय सम्मेलनले भर्ना प्रक्रिया स्वच्छ नहुँदा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मानवअधिकार जोखिममा रहेको निष्कर्ष निकालेको छ ।

सम्मेलनमा स्वच्छ र जिम्मेवार भर्ना प्रक्रिया, अनियमित आप्रवासनका सवालहरु र आप्रवासी कामदारको न्यायमा पहुँचको विषयमा विभिन्न तीन वटा सत्रमा भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

छलफलमा कामदारले गन्तव्य देशमा विभिन्न समस्या भोग्नु परेको भएता पनि त्यहाँ जानु अगाडि आफ्नै देशमा समेत भर्ना प्रक्रियादेखि नै विभिन्न समस्याहरु भोग्नुपरेको विषय उठान गरिएको थियो ।

कानुनको प्रभावकारी कार्यान्वयनको अभाव, कतिपय देशका नीतिहरुमा रहेका कमजोरीका कारण कामदार अनियमित तवरबाट वैदेशिक रोजगारीमा जान बाध्य हुने गरेको विषयमा पनि छलफल भएक‍ो थियो ।

वैदेशिक रोजगारीको क्रममा आउन सक्ने भाषागत, कानुनी एवं अदालती प्रक्रियामा आवश्यक शुल्कको अभाव, गन्तव्य देशको कानुनको ज्ञान नहुनु जस्ता चुनौतीलाई ध्यान दिन सम्मेलनले सुझाएको छ ।

सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, केन्या, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्याण्डलगायत श्रमिक लिने र आपूर्ति गर्ने देशका मानव अधिकार क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि सहभागी छन ।

२६ गतेदेखि सुरु भएको सम्मेलन २८ गते काठमाण्डौ घोषणा पत्र जारी गर्दै सकिने छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया