फिल्म साउथ एसिया २०१९ : ४ दिन, ७ देश, ६३ वृत्तचित्र

 कात्तिक २८, २०७६ बिहिबार १२:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - दक्षिण एसियाकै प्रमखु चलचित्र महोत्सवमध्यको एक ‘फिल्म साउथ एसिया–२०१९’ बिहीबारदेखि पाटनको यलमाया केन्द्रमा सुरु भएको छ ।

सन् १९९७ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२औँ संस्करणमा ७ देशका ६३ वृत्तचित्र रहेका छन् । चार दिनसम्म चल्ने चलचित्र महोत्सवमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश, अफगानिस्तान तथा म्यानमारका वृत्तचित्र रहेका छन् ।

यस पटक अनलाइनबाटै फिल्म मागिएकाले २५ सय भन्दाबढी चलचित्र प्राप्त भएको महोत्सवका सहायक निर्देशक आलोक अधिकारीले जानकारी दिनुभयो । विभिन्न तीन वटा चरणमा छनोट गरिएका ६३ चलचित्रमध्ये १२ वटा ‘स्टुडेन्ट फिल्म’ र ५१ वटा फिल्म ‘मेन सेलेक्सन’ अन्तर्गत रहेका छन् । ५१ वटा चलचित्र प्रतिस्पर्धा विधामा रहेका छन् ।

महोत्सवमा प्रथम हुने वृत्तचित्रले रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलर प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यू’ निर्देशकतर्फ उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नेछ ।

बालबालिकाको विषयमा केन्द्रित वृत्तचित्रमध्ये उत्कृष्ट वृत्तचित्रले ‘युनिसेफ पुरस्कार’स्वरूप एक हजार अमेरिकी डलर पाउनेछ । ‘स्टुडेन्ट’ विधातर्फ उत्कृष्ट वृत्तचित्रले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महोत्सवको पहिलो दिन स्टुडेन्टतर्फका १२ वटा वृत्तचित्र प्रदर्शन हुनेछन् । जसमा नेपाली निर्देशकहरु आशिष लिम्बू र देबिन राईको ‘द विन्टर ट्याप’, भारतीय निर्देशक अंकित प्रकाश दओरेको ‘त्रिकोण’, युसरा हसनको ‘होटेल नाज’ लगायतका वृत्तचित्र रहेका छन् । 

महोत्सवको औपचारिक उद्घाटन भने बिहीबार साँझ ५ बजे रातो बंगलमा स्कुलमा रहेको कमलमणि थिएटरमा हुनेछ । जसमा नेपाली लोक–रक कलाकार अमृत गुरुङको विशेष प्रस्तुति रहनेछ । त्यस्तै उद्घाटन समारोहमै पाकिस्तानी निर्देशक जवाद शरिफको ‘इन्दस ब्लूज’ प्रदर्शन हुनेछ । 

महाेत्सवकाे तालिका हेर्नुहाेस्

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया