यसरी छुट्याउन सकिन्छ महाकालीको नक्कली र सक्कली मुहान !

 कात्तिक २८, २०७६ बिहिबार १४:२०:२१ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता पाउन सबैभन्दा पहिले महाकाली नदीको मुहान यकिन गरिनुपर्छ । 

भारतले नक्कली महाकाली(काली) नदी खडा गरी त्यसलाई नेपालको सीमा हो भन्दै बखेडा झिकेकाले पनि सबैभन्दा पहिले काली नदीको मुहान यकिन गर्नुपर्ने देखिएको हो । 

भारतले महाकाली नदीको मुहानमा विवाद झिक्दै नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक कब्जामा राख्दै आएको छ । सन् १८५६ को आफ्नै नक्सालाई बदलेर कहिले लिपु खोला त कहिले तिंकर भञ्ज्याङतर्फ भारतले सीमा सारिरहेको छ ।

सन् १९६२ को चीन–भारत युद्धपछि लिपुखोलाभन्दा अझ पूर्वतर्फ कालापानीमा बनाएको सैनिक क्याम्प नजिकै रसाएको पानीलाई नै कालीको मुहान भन्ने भारतले धृष्टता गरेको छ । (ऋषिराज लुम्साली–मूल्याङ्कन, साउन २०५५)

भारतले ती क्षेत्र कब्जामा राखेको मात्रै नभई पछिल्लो पटक सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामै समेटेको छ । पछिल्लो पटक भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूभागसमेत राखेपछि भारतसँगको सीमा विवाद सतहमा देखिन आएको हो । 

याे पनि पढ्नुहाेस्

भारतले वर्षौँ पहिले महाकाली नदीको मुहान कुटी याङ्दी नभई कालापानी तर्फबाट आउने तिरतिरे पानी बगेको लिपु खोलालाई नक्कली काली नदीको मुहान बनाएर त्यसअघिका भूभाग कब्जामा लिँदै आएको हो ।   

१८१६ मा भएको सुगौली सन्धिबाट नेपालको पश्चिमी सीमा काली नदी हो भन्ने यकिन गरिएको भए पनि त्यो बेला काली नदीको मुहान लिम्पियाधुराबाट निस्कने कुटी याङ्दी नै हो भनेर किटान नगरिनु नै अहिलेको उत्पन्न समस्याको कारक मान्नुहुन्छ महाकाली हक संरक्षण समितिका संयोजक ऋषिराज लुम्साली । 

अहिले भारतले त्यसैको फाइदा उठाउँदै नक्कली कालीको मुहान बनाएर सुगौली सन्धिले निर्दिष्ट गरेको नेपाली भूभाग आफ्नो कब्जामा राख्दै आएको उहाँ बताउनुहुन्छ ।  

त्यो बेला सीमा निर्धारणको वैज्ञानिक प्रक्रिया पूरा नगरिँदा काली नदीको वास्तविक मुहान कुन हो भन्ने बारे आजसम्म मतान्तर देखिँदै आएको छ । नेपाल भारतबीच बनेको संयुक्त सीमा अध्ययन कार्यदल पनि मुहान कुन हो भन्ने विषयमा टुंगोमा पुग्न सकेको छैन । 

महाकाली नदीको मुहानका विषयमा विवाद रहे पनि मुहान निर्क्याैल गर्न कार्यदलले पनि खासै चासो दिएन । तर अहिले विवाद आइसकेपछि भने वैज्ञानिक विधिमार्फत मुहानको निर्क्याैल गरेर विवादको स्थायी समाधान खोज्न विज्ञहरुले सुझाव दिएका छन् ।

महाकाली नदीको मुहान कसरी पहिल्याउन सकिन्छ त ?

कुनै पनि नदीको मुहान पत्ता लगाउने प्रभावकारी उपाय भनेकै सम्बन्धित नदीको हाइड्रोलोजिकल अध्ययन भएको विज्ञहरु बताउँछन् । 

महाकालीको मुहान पत्ता लगाउन पनि संसारभर प्रचलनमा रहेको यही विधि प्रयोग गर्न अब ढिलाइ गर्नु हुँदैन । वरिष्ठ हाइड्रोलोजिष्ट जगत भुषाल हाइड्रोलोजिकल अध्ययनमार्फत कुनै पनि नदीको मुहान पत्ता लगाउन सकिने बताउनुहुन्छ । 

त्यसका लागि सुरुमा महाकाली नदीको अध्ययन गर्नु जरुरी छ । ‘महाकालीको मुहान छुट्याउने प्रभावकारी उपाय भनेकै त्यहाँको नदीहरुको जलाधार क्षेत्रको अध्ययन हो’, उहाँ भन्नुहुन्छ, ‘त्यसबाट कालीको मुहान कुन हो भन्ने कुरा प्रस्टैसँग छुट्टिन्छ ।’

नदीको लम्बाइ, जलाधारक्षेत्र र पानीको मात्राको हिसाबले लिम्पियाधुराबाट निस्कने खोला नै महाकाली नदीको उद्गम स्थल हो भन्ने तथ्यलाई अन्य कुनै प्रमाणको आधारमा परिवर्तन गर्न सकिँदैन ।  

कुन नदी मूल नदी हो भनेर छुट्याउँदा नदीको लम्बाइ नाप गर्ने बेलामा सुरुको बिन्दुबाट नदीको बीच धारैधार नदीको मुहानसम्म नाप लिनुपर्ने भुषाल बताउनुहुन्छ ।

सम्बन्धित समाचार

यसको मतलब महाकालीको ड्यामबाटै नाप लिँदै मुहानतर्फ अघि बढ्नुपर्ने हुन्छ । नाप लिइसकेपछि मुहानबाट निस्केर जब खोलाको रुप लिँदै तल बग्न थाल्छ, त्यस खोलालाई नदी क्रमाङ्क एक नम्बर र अर्को खोला मिसिएपछि नदी क्रमाङ्कलाई दुई नम्बर दिँदै बीचमा जोडिन आएका नदी तथा खोलालाई क्रमैसँग क्रमाङ्क गर्दै जानुपर्छ ।  

कुनै खास भौगर्भिक अवस्थामा बाहेक मुख्य नदीको क्रमाङ्क सहायक नदीको भन्दा बढी हुँदै जाने भुषालको अनुभव छ । नेपालको सन्दर्भमा नदीको पानीको स्वरुप अध्ययन गर्दा बाढी, वर्षायामको खोला र हिउँद (सुख्खायाम) को खोलामा विभाजन गरेर अध्ययन गर्नु पर्ने हुन्छ ।  

नाप गर्दै अघि बढ्दा बीचमा जोडिएका वा मुहान नजिक पुगेर दुइ नदी जोडिएको भेटिए कुन मुहान होला भन्ने दोधार उत्पन्न हुने भए पनि दुई नदीमध्ये जुन नदीमा औसत पानी बढी हुन्छ त्यो नै मुख्य नदी हुने भुषाल बताउनुहुन्छ । ‘मुख्य नदीको लम्बाइ नै अन्य नदी वा खोलाको लम्बाइभन्दा बढी हुन्छ,’ भुषाल भन्नुहुन्छ, ‘कुनै नदीको मुहान खोज्दै जानुपर्दा यही विधि नै प्रयोग हुने गरेको छ ।’  

जसरी गंगा नदीको जलाधार भेगबाट वगी आउने जमुना, भागिरथी, अलक नन्दा, मंदाकिनी, रामगंगा, गौरी गंगा, काली नदी, कर्णालीका शाखा नदीहरु, सप्तगण्डकीका हिमाली शाखाहरु समेत गंगा वेसिनकै नदी रहेको स्थितिमा पनि ती नदीहरुमध्ये लम्बाई, जलाधार क्षेत्र तथा मुहानबाट आउने पानीको परिमाणको आधारमा गंगोत्रीबाट निस्कने भागीरथी गंगालाई नै मुहान मान्ने गरिएको छ ।  

यसैगरी काली नदीको जलाधार क्षेत्रमा पर्ने रंगुन चल्थी, सरयू, गौरीगंगा, धौलिगंगा, चौलानी, टिंकर, अपी, लिपु जस्ता थुप्रै नदी र हिमनदीहरुमध्ये लम्बाई, जलाधार क्षेत्र र मुहानबाट निस्कने पानीको परिणामबाट पनि जोलिङकाङ पर्वत श्रृङ्खलाको लिम्पियाधुरातर्फबाट निस्कने कुटी याङ्दी नै कालीको वैज्ञानिक र यथार्थ मुहान हुन्छ । वैज्ञानिक मापनबाट पनि यही मुहान प्रमाणित हुने भुषाल बताउनुहुन्छ । 

भारतले महाकाली भनी प्रचार गरेको लिपु खोलाको पानीको मात्राभन्दा झण्डै चारगुणा बढी पानी कुटी(काली) नदीमा बग्ने गरेको छ । यसले पनि मुख्य मुहान कुटी नदी नै हो भन्ने वैज्ञानिक विधिमार्फत प्रमाणित हुने उहाँ बताउनुहुन्छ ।  

कुटी (काली) नदीबाट बगेर आउने पानीको परिणाम र भारतले खडा गरेको नक्कली महाकाली(काली) नदीबाट बगेर आउने पानीको परिणाम हेर्न कालापानी नपुगी गुंजी दोभानमा रहेको कावाबाटै हेर्न सकिन्छ । (ऋषिराज लुम्साली–मूल्याङ्कन, साउन २०५५)

जलस्रोत विज्ञानको हिसाबले भारतले खडा गरेको लिपुलेकबाट निस्केको नक्कली काली नदी कालीको मुहान नभई लिम्पियाधुराबाटै निस्कने कुटीयाङ्दी नै महाकालीको मुहान हो भन्ने प्रमाणित हुने वरिष्ठ हाइड्रोलोजिष्ट जगत भुषाल बताउनुहुन्छ । 

तत्कालीन ब्रिटिस इण्डिया सरकारले सन् १८३९ मा काेलकाताबाट प्रकाशित गरेको नक्सामा महाकालीको मुहान लिम्पियाधुरातर्फबाट आएको प्रस्ट पार्दै लिम्पियाधुरालाई नेपाल, भारत र चीनको स्थिति अंकित गरिएको थियो ।  

यस्तै १८५६ मा सर्भे अफ इण्डियाले प्रकाशित गरेको नक्सामा गुंजीको भागबाट दुवैतर्फ उत्तर पश्चिमपट्टिबाट बगिआएको नदीलाई प्रस्ट रुपमा काली नदी भनी देखाइएको थियो ।  

अन्तिम अपडेट: मंसिर २५, २०७६

नवराज फुयाँल

उज्यालोमा कार्यरत नवराज फुयाँल राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया