विपन्न परिवारलाई नगरपालिकाले किनिदियो सहकारीको शेयर

 साउन २, २०७५ बुधबार ९:१५:५७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – जिल्लाको आठबीसकोट नगरपालिकाले ६ सय ७३ विपन्न परिवारका लागि सहकारीमा शेयर लगानी गरिदिएको छ ।

विपन्न परिवारको पहँच सहकारीमा पुर्‍याई आर्थिक रुपमा सबल बनाउने उद्धेश्यले प्रति परिवार ५ हजारका दरले शेयर लगानी गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकास्थित आठबीसकोट बचत तथा ऋण सहकारी संस्थामा नगरपालिकाका १४ वटै वडाबाट विपन्न परिवारको नाममा शेयर लगानी गरिदिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्नको सूचीमा परेका सबै ६ सय ७३ जना घरपरिवारको नाममा सहकारीमा नगरपालिकाले ३३ लाख ६५ हजार खर्च गरेको छ ।

आर्थिक रुपमा विपन्न परिवार पनि सहकारीमा शेयरधनीका  रुपमा जोडिन सकून र सहकारीबाट ऋणलगायतका सेवा पाउन भन्नका लागि नगरका तर्फबाट शेयर हालिदिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । वडाको सिफारिसमा आएका घरपरिवारको नाममा नगरले शेयर लगानी गरिदिएको हो । 

नगरपालिकाले दिएको जानकारी अनुसार सबै वडाबाट प्रति एक हजार जनसंख्या बरावर २० विपन्न परिवार छनौट गरिएको छ । जसअनुसार सबैभन्दा बढी वडा नं. ११ बाट ८७ परिवार र सबैभन्दा कम वडा नं. १ बाट २२ परिवारको शेयर नगरपालिकाले हालिदिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया