भिजिट भिसामा  विदेश जाँदै हुनुहुन्छ ? अब यी कागजात अनिवार्य चाहिन्छ

 मंसिर २, २०७६ सोमबार १२:४३:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ भिजिट भिसामा विदेश जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब अध्यागमनमा आवश्यक कागजात पेश गर्न पर्छ ।

आवश्यक कागजात पेश नगरेमा अध्यागमनले प्रस्थान अनुमति नदिन सक्छ । अझ पर्यटक भिसामा खाडीका देश, मलेसिया, इराक, सिरिया, अफगानिस्तान लगायतका देशमा जाने महिलाको हकमा भने विशेष व्यवस्था गरेको छ ।

गएको कात्तिक २६ गतेको गृह मन्त्रीस्तरीय निर्णणबाट यो व्यवस्था लागू भएको हो । नयाँ व्यवस्थाअनुसार भिजिट भिसामा यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया जान पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको पनि व्यवस्था गरेको कागजात पेश गर्नुपर्छ । यी कागजात नभए अध्यागमनमा समस्या पर्न सक्छ । 

कुन देशमा जान कस्तो कागजात ?

सामान्यतया पर्यटक भिसामा जानेले पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको व्यवस्था गरेको प्रमाण देखाएपछि प्रस्थान अनुमति पाइन्छ । तर महिलाको हकमा भने विशेष व्यवस्था गरिएको छ । 

खाडीका देश, मलेसिया, इराक, अफगानिस्तान, सिरिया, अफ्रिकी देशहरु वा अरु देशमा पर्यटक भिसामा जाने महिलाको जोखिमको अवस्थाको विष्लेषण गरेपछि मात्रै अध्यागमनले प्रस्थान अनुमति दिन्छ । 

विदेशमा रहेका आफन्त वा साथमा लान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात वा गन्तव्य देशमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात  र उ विदेशमा रहेको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्छ ।

ट्राभल एजेन्सीमार्फत भ्रमणमा जान लागेको हो भने ट्राभल एजेन्सीको टूर प्याकेजमा लगिएको भनी लेखिएको पत्र र स्वःघोषणा पनि आवश्यक पर्छ । 

अमेरिका, क्यानडा, युरोपियन देश, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्ने हुन्छ ।

अध्यागमन विभागले माग्ने कागजात पूरा गर्नका लागि बिचौलियाको सहारा लिनुपर्ने बाध्यता भएको र अब यति कागजात देखाएमा कसैलाई पनि नरोक्ने अध्यागमन विभागले जनाएको छ । 

गन्तव्य देशभन्दा अन्य देशमा ट्रान्जिट हुने व्यक्तिहरूलाई रोक्न पनि दुईतर्फी टिकट अनिवार्य गरिएको छ । पहिले पनि यो व्यवस्था थियो, तर अनिवार्य भने थिएन । 
विद्यार्थी भिसामा विदेश जानेहरूका लागि पासपोर्ट, भिसा, गन्तव्य देशसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र, बास खर्चको व्यवस्थापन खुल्ने कागजात देखाउनु पर्छ ।

यस्तै तालिम तथा कार्यक्रममा विदेश जानेहरूले पासपोर्ट, भिसा, गन्तव्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचय पत्र देखाउनुपर्ने भएको छ ।

यस्तै कामदार भिसामा जानेहरूका लागि भने श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिन भएको हुनुपर्ने छ । तर युरोपियन देशहरूको भिसा भएकाहरूको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन ।  भारत जान पासपोर्ट वा नागरिकता र बोर्डिङ पास मात्रै देखाए पनि पुग्ने अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरूका लागि हातेपुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकलाई विभिन्न देश जाने प्रस्थान अनुमति दिनुअघि आवश्यक व्यवस्था हुँदै आएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया