भारतीय धामीको हत्याको अभियोगमा पक्राउ परेका ५ जना सार्वजनिक

 मंसिर २, २०७६ सोमबार २०:४:४३ | आशिष विश्वकर्मा
unn.prixa.net

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले भारतीय धामी(झाँक्री)को हत्या अभियोगमा पक्राउ परेका पाँच जनालाई सोमबार सार्वजनिक गरेको छ ।

बिहारको मधुवनी घर भएका ४० वर्षीय धामी राजकुमार यादवको हत्या अभियोगमा पक्राउ परेका सिरहा कर्जन्हाका ३८ वर्षीय फूलगेन साह, धनगढीमाई नगरपालिका ११ का १९ वर्षीय रामकुमार साह, मिर्चैया नगरपालिका ४ का २० वर्षीय जितेन्द्र साह, धनुषा कमलामाई नगरपालिका ६ सखुवामडानका २५ वर्षीय अजयकुमार महतो र २१ वर्षीय राजलाल महतोलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

यादवको शव कत्तिक २१ गते बिहान सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो । भारतीय प्रहरीको समन्वयमा उनको पहिचान खुलेको थियो ।

धामी यादवले फुलगेन साहसँगको चिनजानका आधारमा सिरहा र धनुषामा झारफुकको काम गर्दै आएका थिए । फुलगेनसँग लेनदेनसमेत रहेका यादव यस क्षेत्रमा झारफुकको नाममा अनैतिक क्रियाकलाप पनि गर्ने गरेकाले हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘घटनाको अनुसन्धानका क्रममा झाँक्री यादवले झारफुक गरको बिरामी निको पनि नहुने र जहाँ ायो त्यही अनैतिक व्यवहार देखाउने गरेकोले हत्यासम्मको योजना बनेको देखिएको छ, हाम्रो अनुसन्धान अझै जारी छ ।’

धामी यादवले छोरीको विवाहमा फूलगेनसँग ८५ हजार सापटी लिएको र त्यो पैसा फिर्ता मागेपछि उनीहरुबीच मनमुटाव भएको बताइन्छ । त्यही रकम फिर्ता मागेपछि फूलगेनकै हत्या गर्ने षडयन्त्र गरेको फूलगेनले चाल पाएपछि धामीबाट पीडितहरुलाई भेला गरी फूलगेनले नै यादवको हत्या योजना बनाएको प्रहरीको भनाइ छ ।

योजनाअनुसार नै फुलगेनले कात्तिक २० गते लहानमा ‘मेरो सासू बिरामी हुनुहुन्छ’ भन्दै धामी यादवलाई बोलाई सिरहा सदरमुकाम पुर्याएको प्रहरीले बताएको छ । त्यहाँबाट विभिन्न बहाना बनाउँदै सिरहा नगरपालिका–१२ सारस्वरमा कमला नदीको पूर्वी किनारमा पुर्‍याएर बेलुका ६ बजेतिर खुकुरी प्रहार गरी हत्या गरेको एसपी चतुर्वेदीले बताउनुभयो ।

घटना भएको भोलिपल्ट बिहान ८ बजेमात्र स्थानीयले भनेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीको अनुसन्धानबाट पहिला फुलगेन मात्र फक्राउ परेका थिए । फूलगेनकै बयानको आधारमा हत्यामा संलग्न अरुलाई पनि पक्राउ गरिएको थियो । हत्या गरिसकेपछि उनीहरुले आफैले लगाएको कपडा र धामी यादवको झोलाहरु विभिन्न ठाउँमा लगेर फालेका थिए । प्रहरीका अनुसार मृतक यादवको झोला धनगढीको एक पोखरीबाट बरामद गरिएको थियो । हत्यामा प्रयोग भएको खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार हत्यामा संलग्न रहेकाहरुको पनि धामीले झारफुक गरेको बताएको छ । उनले झारफुक गरेकाहरुको बिरामी पनि निको नहुने र अनैतिक व्यवहारका कारण पनि रुष्ट भएकाले हत्यासम्मको योजना बनेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया