पेट्रोलियम पदार्थको खोजी भैरहेको ठाउँमा उच्छृङ्खल गतिविधि, सहयोग गर्न प्रशासनको आग्रह

 मंसिर २, २०७६ सोमबार २०:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख - दैलेखका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने काममा उच्छृङ्खल गतिविधि भएका छन् ।

चिनियाँ प्राविधिक टोलीले दैलेखको श्रीस्थान, नाभीस्थान, धुलेश्वर र पादुका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि जमिन खन्ने, चिनो  लगाउनेलगायतका काम गरिरहेको छ । तर प्राविधिकले खनेका १० देखि १२ मिटर गहिरा खाल्डा पुर्ने,  ढुंगा भर्ने, चिन्ह मेटाइदिनेलगायतका उच्छृङ्खल काम भैरहेका छन् । चिनियाँ प्राविधिकलाई पेट्रोलियम पदार्थको अन्वेषणमा अफ्ठेरो पर्ने भएकाले उच्छृङ्खल काम नगरिदिन जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ ।

‘जान्ने बुझ्ने र ठूला मान्छेले त्यस्ता काम गरे भन्ने हामीलाई लाग्दैन, साना केटाकेटी र गोठालाहरुले अञ्जानमा त्यस्ता काम गरेका हुन सक्छन्, हामीले सम्बन्धित स्थानीय तहलाई पत्र लेखेर सचेतना जगाउन भनेका छौँ ।’ दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।

४० जनाको चिनियाँ टोलीले अहिले २० वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि काम गरिरहेको छ ।

नेपालमा २०७२ सालमा संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको थियो । त्यसपछि सरकारले नेपालमै भएका पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गरेको थियो । यो काममा चीनले सहयोग गरिरहेको छ । दैलेखका विभिन्न भागमा वर्षौंदेखि आगोको ज्वाला बलिरहेकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान वैज्ञानिकले गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया