हामीसँग जे छ त्यसैलाई सुधार गर्ने हो, विराट कोहली नै चाहिने हाे कि भन्ने हाेइन : ज्ञानेन्द्र मल्ल

 मंसिर ३, २०७६ मंगलबार १४:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बंगलादेशमा भएको एसीसी इमिर्जिङ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।

समूह चरणमा नेपालले हङकङसँगको खेलमा मात्रै जित हात पारेको थियो । भारत र बंगलादेशसँग भने पराजित हुन पुग्यो । भारतको इमर्जिङ टिमसँग ७ विकेट हारेको नेपाल बंगलादेशसँग भने ८ विकेटले हारेको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको ब्याटिङमा धेरै कमजोरी देखिएको र अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको बताए । 

प्रस्तुत छ उनीसँगको कुराकानी

समग्रमा प्रतियोगिता कस्तो रह्यो ?

ठिकै रह्यो, सोचेको जस्तो भएन, बंगलादेश र भारतसँग राम्रो गर्न सकिन्थ्यो ।

टिममा के कुराको कमजोरी देखियो ?

बंगलादेश, भारतसँग राम्रो स्कोर गर्न सकिन्थ्यो, दुवैमा ब्याटिङ राम्रो हुन सकेन । तर दुवै टिम बलिया थिए । त्यही हो हामीले प्रतिस्पर्धात्मक खेल खेल्न सकेनौँ ।

उनीहरु बलियो कि हामी कमजोर ?

यो लेभलमा आएपछि उनीहरुले एउटा मोमेन्टम पाएपछि त्यसलाई निरन्तरता दिने हो । दबाबबाट कसरी माथि उक्लने भन्ने उनीहरुलाई हामीभन्दा बढी थाहा छ । दबाबको बेला पनि कसरी एक रन लिएर आफ्नो मोमेन्टमलाई कायम राख्ने भन्ने सिकियो, उनीहरुभन्दा हामी तल छाैँ, अझै धेरै सिक्न बाँकी छ भन्ने सिकियो ।

अझै पनि टिममा म्याच एक्सपोजरलगायतका कुराहरुमा ध्यान दिन जरुरी छ । अझै धेरै अभ्यास खेलहरु खेलेमा राम्रो टिमसँग राम्रो विकेटमा त्यसले हाम्रो टिममा जुन ब्याटिङको कमजोरी छ भन्ने छ, त्यो सुधार हुन्छ ।

पहिलो पटक औपचारिक रुपमा कप्तानका रुपमा जानुभयो, कस्तो रह्यो ?

व्यक्तिगत प्रदर्शन राम्रो भएन, ब्याडलक, जे हुनुपर्ने त्यो भएन, अझै अगाडि महत्वपूर्ण खेलहरु आइरहेको छ, त्यो बाहेक टिमले पनि धेरै राम्रो सपोर्ट गर्यो मैदानमा, त्यसैले खुशी छु ।

क्यानको व्यवस्थापनमा टिम गएको थियो, पहिले व्यवस्थापकको दबाब हुन्थ्यो, त्यो दबाव यसपटक कस्तो रह्यो कि रहेन ?

त्यस्तो केही पनि भएन, म्यानेजर पनि राम्रो हुनुहुन्थ्यो, उहाँले क्यान भन्दैमा हामी यस्तो कुराहरु गर्न आएको होइनौँ । अब तपाईँहरु आफ्नो खेलमा फोकस गर्नु भनेर सकारात्मक वातावरण बनाइदिनुभयो, त्यसको लागि धन्यवाद पनि भन्छाैँ, एकैचोटी उहाँहरुले सबै काम गर्न पाइरहनु भएको छैन । उहाँहरुले पनि धेरै कुराहरु सुरुवातदेखि नै गरिरहनु भएको छ, आशा गरौँ आगामी दिनहरुमा अझ राम्रो हुन्छ ।

कप्तानीको दबाबले पनि तपाईँको प्रदर्शन घटेको हो ?

योभन्दा अगाडि पनि इमर्जिङ कपमा कप्तानका रुपमा नै गएको थिएँ । मलाई कप्तानको प्रेसर कहिले पनि लागेन । अब यो एउटा ब्याडलक, सुरुसुरुमा नै आउट हुन पुगेँ, त्यसैले राम्रो गर्न नसकेको हो ।

मैदानमा कप्तानी गर्दा पारस खड्काको कमी महसुस भयो कि भएन ?

होइन, गएपछि सेटमा रहेका ११ खेलाडीको सबै क्षमता थाहा हुन्छ । को छ, को छैन भनेर सबैको क्षमता थाहा भएकै हुन्छ । त्यसैले त्यस्तो सोच्न थाल्यो भने त भोलि विराट कोहली चाहिने हो कि भन्ने कुरा दिमागमा आउँछ, त्यसैले त्यस्तो कुरा नआइकन हामीसँग जे छ, त्यसलाई नै कसरी राम्रो बनाउने भन्नेमा ध्यान दिनुपर्छ ।

दक्षिण एसियाली खेलकुदमा हाम्रो लक्ष्य के हुनेछ ?

सागमा हाम्रो लक्ष्य स्वर्ण नै हो, त्यसपछि हेर्दे जाउ कहाँसम्म पुगिन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया