भारत र बंगलादेशका प्रतिनिधि भन्छन्: नेपालको बिजुली किन्न तयार छौँ

 मंसिर ५, २०७६ बिहिबार १८:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र बंगलादेशले छिटो नीति बनाएर नेपालको बिजुली किन्न तयार रहेको बताएका छन् ।

काठमाण्डौैमा बिहीबारदेखि चलेको उर्जा सम्मेलनका क्रममा भारत र बंगलादेशका प्रतिनिधिले उपयुक्त नीति बनाएर नेपालको बिजुली किन्ने बताएका हुन् । 
भारतको एकीकृत अनुसन्धान तथा विकासका कार्यकारी निर्देशक पंकज भट्टले नेपालसँग पर्याप्त बिजुली उत्पादन गर्ने क्षमता रहेको र भारतलाई बिजुली चाहिएकोले विद्युत् व्यापार धेरै टाढाको विषय नभएको बताउनुभयो ।

उहाँले भारत, बंगलादेश, भुटान तथा म्यानमार मिलेर ऊर्जा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

यसैगरी, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इन्जिनीयर एडी महबुर रहमानले भारतले त्रिपक्षीय कामका लागि अग्रसरता लनुपर्नेमा जोड दिनुभयो ।

‘अहिले बंगलादेशले भारतबाट एक हजार मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ र भविष्यमा नेपालबाट बिजुली लैजाने गृहकार्य गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘भारत तथा नेपालबाट पर्याप्त बिजुली लैजान हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम भइरहेको छ ।’

रहमानका अनुसार नेपालका पाँचवटा नदीहरू दूधकोसी, सुनकोसी दोस्रो तथा तेस्रो, तल्लो अरूण र तमोरबाट बिजुली बंगलादेश लैजाने गृहकार्य भइरहेको छ ।

त्यस्तै, इनर्जी एक्सचेन्ज भारतका डाइरेक्टर राजेशकुमार मडिरट्टाले नेपालको इनर्जी एक्सचेन्जसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालले भारतीय इनर्जी एक्सचेन्जबाट धेरै कुरा सिक्न सक्ने भन्दै इनर्जी एक्सचेन्जको काम अगाडि बढाउन सक्ने बताउनुभयो । उहाँले नेपाललाई चाहिने आवश्यक प्राविधिक सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया