‘सरकारले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चाैकी स्थापना गर्नुपर्छ’

 मंसिर ६, २०७६ शुक्रबार २०:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नागरिक समाजका अगुवाहरुले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापना गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रस्ट देखिनेगरी सरकारलाई सुरक्षा चौकी स्थापनाका लागि तत्काल कदम चाल्न आग्रह गरेका हुन् । 

रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नागरिक समाजका २६ जना अगुवाहरुले सीमा रक्षार्थ सजग र सचेत रहन भन्दै १० बुँदे सार्वजनिक आह्वानसमेत गरेका छन् । ‘लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा राज्यको उपस्थिति प्रस्ट देखिनेगरी नेपालको तर्फबाट सुरक्षा चौकीहरु तत्काल स्थापना गरियोस्’, आह्वानमा भनिएको छ ।  

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सापछि उत्पन्न भएको विवाद समाधान नभएसम्म आम नागरिकलाई एकताबद्ध भइ समस्या समाधान गर्न सरकारलाई निरन्तर दबाब दिइरहन समेत विज्ञप्तिमा भनिएको छ । 

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कालापानी नेपालको भूभाग रहेको सबै ऐतिहासिक प्रमाण सुरक्षित रहेको बताउनुभयो । उहाँले २०१८ सालमा आफै त्यस क्षेत्रमा पुगेर जनगणना गरेको खुलाउनुभयो । लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्मको क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन तत्काल कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गर्नुभयो ।  

पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेलले जलाधार, नक्सा र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा नै काली नदीको मुहान रहेको र नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको बताउनुभयो । नेपाल सरकारले त्यो क्षेत्रसम्मको आधिकारिक नक्सा सार्वजनिक गरी भारतलाई जवाफ दिनुपर्ने उहाँको धारणा थियो । 

त्यस्तै भूगोलविद् प्रा‍. डा. नरेन्द्रराज खनालले विक्रम संवत १८५६ भन्दा अगाडिका सबै नक्साहरुमा लिम्पियाधुराबाट आउने नदीलाई नै महाकाली नदी देखाइएकाले त्यही नक्साका आधारमा सरकारले भारतसँग सप्रमाण वार्ता अगाडि बढाउनुपर्ने बताउनुभयो ।  

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले पनि अलमोडा गजेटमा ब्रिटिशहरुले नेपालको सिमाना लिम्पियाधुरासम्म रहेको स्वीकारेकाले त्यसलाई आधार मानेर तत्काल भारत सरकारसँग वार्ता अगाडि बढाउन आग्रह गर्नुभयो ।  

जलाधार विज्ञ जगत भुषालले नदीको तीन वटा मूल सिद्धान्तका आधारमा सबैभन्दा लामो, धेरै शाखा मिसिएको र जलाधार धेरै भएको नदी नै सीमा नदी उल्लेख गरिएकाले लिम्पियाधुराबाट आउने नदी नै काली नदीको मुहान भएकोले सीमाको व्याख्याअनुसार त्यो क्षेत्र नेपालको भूभागमा पर्ने बताउनुभयो ।  

यसैगरी नागरिक समाजका तर्फबाट सीमा बचाऊ अभियान, नक्सा समितिले एक हप्ताभित्र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारी विश्वव्यापी रुपमा नक्सा सार्वजनिक गर्ने जानकारी दिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया